लेकबेसीमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ – सुर्खेतको लेकबेसी नगरपालिकामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा परीक्षण गरिएका अधिकांश महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको छ। स्त्रीरोगसम्बन्धी एकदिने शिविरमा स्वास्थ्य परीक्षण गरिएका २६७ जनामध्ये २१ जनामा पाठेघरसम्बन्धी समस्या रहेको पाइयो, जसमा १४ जनामा पाठेघर क्यान्सरको शंकास्पद लक्षण देखिएको छ।
शिविरमा परीक्षण गरिएका एक जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने ६ जनामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिएको छ। त्यस्तै, ३ जना महिलामा पिसाबसम्बन्धी समस्या रहेको चिकित्सकहरूले बताएका छन्।
नेपाल निजामति कर्मचारी युनियन कर्णाली, नेपाल नर्सिङ युनियन सुर्खेत र नेपाल निजामति कर्मचारी युनियन प्राथमिक कार्यसमिति प्रदेश अस्पतालको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो। शिविरमा स्त्री रोग विशेषज्ञ ललितजंग शाही, मेडिकल अफिसर अमित कर्ण र सतिश गौतमले स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा १६४ जनाले भिडियो एक्स–रे सेवा लिएको बताइएको छ। नेपाल निजामति कर्मचारी युनियन प्राथमिक कार्यसमिति प्रदेश अस्पतालकी अध्यक्ष खुमा भट्टराईका अनुसार शिविरमा आएका धेरै महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। '१४ जना महिलामा पाठेघरको क्यान्सरको शंकास्पद लक्षण देखिएको छ भने एक जनालाई अप्रेसनका लागि सिफारिस गरिएको छ,' उहाँले भन्नुभयो ।
शिविरको उद्घाटन कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका पूर्व अध्यक्ष गणेश गौतम, नेपाली कांग्रेस सुर्खेतका उपाध्यक्ष विष्णु खड्कालगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। आयोजकहरूले यस्ता शिविर आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताएका छन्।
प्रतिक्रिया