दैलेखको भैरवीमा महिला, युवा र बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम

दैलेखको भैरवीमा महिला, युवा र बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम

दैलेख –  दैलेखको भैरवी गाउँपालिकामा महिला, युवा, बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । एईआईएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय र सोसेक नेपालको आयोजनामा भैरवी गाउँपालिका ३ मा महिला, युवा र बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय महिला समूह, युवा क्लब र बाल क्लबका ३० जना सदस्यहरूको सहभागितामा आयोजित अन्तर्क्रिया कार्यक्रम भैरवी गाउँपालिका ३ का वडा अध्यक्ष भक्ति प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मानव अधिकार, महिला अधिकार, बाल अधिकार, महिला हिंसा, बाल दुर्व्यवहार, घरेलु हिंसा लगायतका महत्वपूर्ण सामाजिक मुद्दाहरूमा छलफल गरिएको थियो ।

त्यस्तै, सचेतना कार्यक्रममा  कानूनी परामर्श सेवा लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान लैंगिक हिंसा, बाल अधिकार हनन, घरेलु हिंसा तथा अन्य सामाजिक अपराधहरू रोकथाम गर्न सामूहिक सचेतना आवश्यक रहेको औँल्याएका थिए ।

सचेतना अभियानमार्फत स्थानीय समुदायलाई कानूनी सहायता तथा सेवा प्रवाहका प्रक्रियाबारे स्पष्ट पार्दै हिंसा तथा अन्य अन्यायका घटनामा पीडितहरूले सहज रूपमा न्याय पाउन सक्ने उपायबारे जानकारी दिइएको थियो ।

कार्यक्रमका सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरू स्थानीय तहमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । आयोजक संस्थाहरूले पनि आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया