मर्मत सम्भार गरेपछि पुरानै धारामा आउन थाल्यो खानेपानी

मर्मत सम्भार गरेपछि पुरानै धारामा आउन थाल्यो खानेपानी

दैलेख  । जिल्लाको भगवतीमाई गाउँपालिका–१ पग्नाथका खम्मे दमाईको घरमा खानेपानीको पक्की धारा थियो । धाराबाट पानी नझरेको ६ बर्ष भयो ।  योजनाको सञ्चालन र व्यवस्थापन भरपर्दो नहुँदा सिंगो गाउँभरमा रहेका धाराहरुको अवस्था उस्तै थियो ।ठाउँ ठाउँमा पाईप टुक्रिए थिए भने ट्यांकीमा झारपात उम्रिएर छपक्क ढोको थियो । 

आजभोली मर्मत गरेपछि पुरानै धारामा पानी आउन थालेको छ । नयाँ योजना माग गर्दा परेन । मर्मत गर्दा अहिले पुरानै धारामा पानी आउन थाल्यो,खम्मेले भने । 

साविक गाविस हुँदा नेपाल स्वास्थ्यका लागि पानी (नेवा)नामक संस्थाले पग्नाथबासीका सबै घरधुरीमा खानेपानी सुविधा पुर्‍याएको थियो । तर केही वर्षयता ठाउँ–ठाउँमा पाइपलाइन बिग्रिएका कारण आँगनमा बनाइएका धारा जीर्ण भइसकेका थिए ।

भगवतीमाई गाउँपालिकाका अनुसार चालू आर्थिक वर्षमा भह लाग्ने गौथली खानेपानी तथा सरसफाइ आयोजना मर्मतपछि सञ्चालनमा ल्याइएको छ । वडा नं १ का पगनाथ, पोखरीडाँडा र हलसिम टोलका ११२ घरधुरीमा १०० वटा धारा र चाङ निर्माण गरिएको छ ।

पानीको स्रोत कम भएपछि यस आयोजनामा अर्को मुहानबाट पानी थप गरिएको छ । अहिले यही आयोजनाबाटै पग्नाथ स्वास्थ्यचौकी, ज्वाला आधारभूत विद्यालयलाई पनि खानेपानी उपलब्ध गराएको छ ।

भगवतीमाई गाउँपालिका ७ लामतडामा केही वर्षअघि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी आयोजना निर्माण गरेको थियो । तर यो आयोजना पनि दिगो रुपले सञ्चालन हुन सकेन । जीर्ण आयोजनालाई मर्मत सुधार गर्ने गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रम अनुसार यस आयोजनालाई फेरि मर्मत गरियो । त्यहाँका २० घरधुरीका लागि १८ धारा पनि निर्माण गरियो ।

लामतडा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर खड्काले आश मारिसकेको आयोजना फेरि मर्मतपछि सञ्चालनमा आउँदा खुशी लागेको बताए ।  बेस्तडा बृहत खानेपानी आयोजना मर्मतका हिसाबले मध्यम वर्गमा थियो । चिसापानी मुहानबाट पानी ल्याएर सांगुतडाका १० घरधुरीका लागि खानेपानी धारा र घैंटो निर्माण गरिएको छ । वादी समुदायको बाक्लो बस्ती रहेको खोलगाडीमा पनि उकाली भन्ने स्थानबाट पानी ल्याइएको छ ।

त्यहाँका ३० घर थप गरेर खानेपानी धारा निर्माण गरिएको छ । भगवतीमाई ५ मुलकामा थारिम चोक्टा हुलाक खानेपानी तथा सरसफाइ आयोजना चालू आर्थिक वर्षमा मर्मत गरी सञ्चालनमा ल्याइएको हो । ४०० मिटर अगाडिबाट पानीको स्रोत थप गरिएको छ । ३ वटा इन्टेक थपिएका छन् । जहाँ १२० घरधुरीलाई आयोजनाले खानेपानी सुविधा उपलब्ध गराएको छ ।

आयोजना मर्मत भएपछि ४१ घरधुरी नयाँ थपिएका छन् । कम लागतमा समयमै आयोजना मर्मत सुधार भई सञ्चालनमा आएपछि उपभोक्ताहरु पनि खुसी छन् ।सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना ९सुस्वा० को सहयोगमा भगवतीमाई गाउँपालिकाले खानेपानी आयोजनाको सामान्य, मध्यम र पूर्ण मर्मत गरी आयोजना निर्माण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

खानेपानी तथा सरसफाइ आयोजनामा उपभोक्ताको एक प्रतिशत नगद सहयोग सहित २० प्रतिशत श्रमदान, गाउँपालिकाको १० प्रतिशत र ७० प्रतिशत परियोजनाले बजेट परिचालन गर्ने गरेको छ ।

भगवतीमाईमा गत वर्ष यस्तै जीर्ण ५ आयोजना मर्मत सुधार गरी सञ्चालनमा ल्याइएको थियो । गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का थापाले पुराना आयोजनाको मर्मतले गर्दा पालिकाको ठूलो बजेट जोगिएको जानकारी दिईन । सामान्य मर्मत गरे भैहाल्ने ठाउँमा पनि नयाँ योजना पार्ने प्रचलन थियो ।  खानेपानी क्षेत्रमा कम बजेटमा धेरै लाभ लिन सफल भयौं,उनले भनिन् । 

उपभोक्ता समितिलाई खानेपानी संस्थाका रुपमा स्तरोन्नति गर्दै गाउँपालिकाको जलस्रोत समितिमा दर्ता गर्ने गरिएको छ । भगवतीमाईमा ९ वटा उपभोक्ता संस्था दर्ता भइसकेका छन् ।

गाउँपालिका र सुस्वा परियोजनाले उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको दिगो व्यवस्थापन र सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाको सामान्य मर्मत, चौकीदार खर्च स्वयं उपभोक्ता संस्थाले नै बेहोर्न थालेका छन् । गाउँपालिकाका खानेपानी तथा सरसफाइ (वास ) सहजकर्ता प्रकाश अधिकारीले उपभोक्ता संस्थालाई सबल बनाउँदा आयोजना दिगो सञ्चालन हुने विश्वास व्यक्त गरिन । 
हालसम्म २० वटा उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । त्यस्तै परियोजनाले इनलाइन क्लोरिनेसनबाट प्रत्येक धारामा सुरक्षित रुपले क्लोरिन मिलाइएको खानेपानी प्रदान गर्दै आएको छ । 

तीन वर्षदेखि नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा परियोजनाले करिब ५७ हजार १७६ जनालाई सुरक्षित पानी प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया