गुराँस गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
दैलेख – दैलेखको गुराँस गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं - ७ मा यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, र यौन विशेषता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, पहिचान, र सामाजिक स्वीकृतिको सवालमा महत्वपूर्ण छलफल अघि बढाएको छ।
अभिमुखीकरण कार्यक्रममा गुराँस गाउँपालिका ७ का वडाध्यक्ष नन्द वि.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो । कार्यक्रममा वडा बाल अधिकार समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्वास्थ्यकर्मी, तथा बाल क्लब सञ्जालका प्रतिनिधिहरुको समेत उल्लेखनीय उपस्थिति थियो । सहभागीमध्ये ५ महिला, १६ पुरुष, र २ बालबालिकासहित कुल २३ जना रहेको कार्यक्रमले विविध पक्षहरुको प्रतिनिधित्व सुनिश्चित गरेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई सुरक्षित र सम्मानित जीवन यापन गर्न सक्षम बनाउनु, साथै उनीहरुलाई परिवार र समुदायले सहज रूपमा स्वीकार गर्ने वातावरण तयार गर्नु रहेको बताइएको छ ।
वडा बाल अधिकार समितिका संयोजक तथा वडाध्यक्ष नन्द वि.सी.ले लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई समुदायले स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै, स्थानीय सरकारले उनीहरूको अधिकार सुरक्षित गर्न नीति, कानुन, र बजेटमा समावेश गरेको बताउनुभयो । उहाँले भेदभाव, घृणा, र लाञ्छनाबाट मुक्त समाज निर्माण गर्न शिक्षाद्वारा जनचेतना फैलाउने कुरामा विशेष जोड दिनुभयो।
लैङ्गिक तथा यौनिक विविधता सम्बन्धी ज्ञान अभिवृद्धि गर्नका लागि गुराँस गाउँपालिकाका दुई विद्यालय—शान्ति माध्यामिक विद्यालय (गुराँस गाउँपालिका ७, लालीकाँडा) र मालिका माध्यामिक विद्यालय (गुराँस ८, मकुट) मा ‘विकमिङ्ग वेव’ सेरिजको स्क्रीनीङ क्याम्प आयोजना गरियो। यस कार्यक्रममा शिक्षक, बालबालिका, र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कुल ३३ जना शिक्षक र ४७ जना बालबालिकाको सहभागिता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य विद्यालयस्तरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी चेतना अभिवृद्धि गर्नु, साथै उनीहरूको पहिचान खुल्ने सुरक्षित वातावरण सिर्जना गर्नु रहेको थियो ।
त्यस्तै शान्ति माध्यामिक विद्यालय गुराँस ७ लालीकाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार बुढाले विद्यालयमा समावेशी वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले विद्यालयले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाहरूलाई सुरक्षित अनुभव गराउने योजनाहरु निर्माण गर्नुपर्ने, भेदभाव र दुर्व्यवहार हुन नदिनुपर्ने, तथा उनीहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
गुराँस गाउँपालिकामा गरिएको यस अभिमुखीकरण कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूप्रति समुदायको सोच परिवर्तन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सहभागिहरुले यस प्रकारका कार्यक्रमलाई अझ ग्रामिण स्तरसम्म पु¥याउनु पर्ने धारणा राख्दै, यसले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया