हाम्रा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाऔं

सुर्खेत । नेपाली काँग्रेसका साँसद कृष्णकुमार विसीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले जनताको आशामाथि तुषारापात गरेको भन्दै नेपाली काँग्रेसले पुनः सरकार छाड्नुपर्ने बताए । बुधबार बसेको प्रदेश सभा बैठकमा साँसद विसी आक्रोशित हुँदै यस्तो बताउनु भएको हो ।
विसीले भने, म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते नै भइरहने हो भने सरकारलाई दिएको समर्थन यथावत् राखेर सरकारमा गएका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ ।’पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् ।
उक्त विषयमा गम्भीर रूपमा सोच्न विसीले दल नेता जीवनबहादुर शाहीलाई अनुरोध गरे । सरकारबाट धेरै कामहरू रोकिएका छन । कँडेल नेतृत्वको सरकारले जनताको आशामाथि तुसारापात गरिरहेको छ,आक्रोशित हुदै भने ,सत्तारुढ दलले नै सरकारमाथि प्रश्न उठाउने अवस्था आएको छ । यसअघि सरकारसँग गरेका सम्झौताहरू कुनै कार्यान्वयन भएनन् ।
कर्णालीमा कांग्रेसले सरकार छाड्नुपर्ने बताएको यो पहिलो पटक भने होइन । यसअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसदबाटै सरकार छाड्ने धम्की दिएका थिए । केही दिनअघि मात्रै आकस्मिक बैठक बसेर सरकार छाड्ने बारे आन्तरिक छलफल नै गरेको बताइएको थियो । फेरि मुख्यमन्त्री कँडेलको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सरकार छाड्नुपर्ने बताएको छ ।
प्रतिक्रिया