बालगृहमा पठाइएका बालबालिका उच्च जोखिममा

बालगृहमा पठाइएका बालबालिका उच्च जोखिममा

सुर्खेत । वालगृहमा पठाएका बालबालिका उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । गएको बुधवार  काठमाडौँको हिमाली नवीन संस्थाले सुर्खेतमा आयोजना गरेको बालबालिकाको परिवार र समुदायमा आधारित वैकल्पिक हेरचाहसम्बन्धी कार्यक्रममा राम्रो शिक्षाको लोभमा बालगृहमा पठाइएका बालबालिका उच्च जोखिममा रहेको जनाइएको हो । 
कर्णालीको दुर्गम क्षेत्रका अभिभावकले आफ्ना बालबालिकाले राम्रो शिक्षा पाऊन् भन्ने लोभले छोराछोरीलाई बालगृहमा पठाउने गरेका छन् । यसले अधिकांश बालबालिका जोखिममा पर्ने गरेको पाइएको छ । कानुनी प्रक्रिया पूरा नगरी काठमाडौँलगायतका स्थानमा राम्रो शिक्षाको लोभले पठाउन खोज्दा बालबालिकाले शारीरिक तथा मानसिक यातना भोगेर जोखिममा छन् । 
संस्थाले हालसम्म ४२ वटा बालगृहबाट ९६७ जना बालबालिकालाई उद्धार गरेको जनाएको छ । संस्थाका उपनिर्देशक रिजा महर्जनले उद्धार गरिएकामध्ये ७० प्रतिशत अर्थात् ६७६ जना कर्णाली प्रदेशका रहेको जानकारी दिए । त्यसमा पनि अधिकांश हुम्ला डोल्पाका रहेका छन् ।

२०७१ सालमा देशभर ५९४ वटा बालगृह रहेकोमा त्यहाँ १६ हजार बालबालिका आश्रित थिए भने अहिले २०८१ सालमा ३९६ वटा बालगृहमा १० हजार बालबालिका आश्रित छन् । अभिभावकले राम्रो पढाइको लोभमा परेर आफ्ना बालबालिकालाई सुगमका बालगृहमा आँखा चिम्म गरेर दिने गरेको बताए । जसका कारण बालगृहमा उनीहरूको अवस्था जोखिममा रहेको छ । जसले गर्दा बालबालिका हिंसा, बेचबिखन, ओसारपसार जस्ता जोखिममा परेको उपनिर्देशक महर्जनले बताए । बालगृहमा बसेका बालबालिकाको मनोदशा कमजोर हुने गरेकाले उनीहरूलाई अवस्था हेरेर परिवारसँग एकीकरण गराउन आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै संस्थागत हेरचाह अनुभवी हुम्लाका वीरेन्द्र शाहीले आफू काठमाडौँको बालगृहमा १२ वर्ष बसेको अनुभव सुनाउँदै यो अवधिमा आफूले जोखिम भोग्नु परेको जानकारी दिए । राम्रोसँग पढाउने लेखाउने लोभमा अभिभावकले आफूलाई काठमाडौँको बालगृहमा जिम्मा लगाएको तर त्यहाँ शारीरिक र मानसिक पीडा भोग्नु परेको हुँदा बालगृहमा बस्ने बालबालिका सधैँ जोखिममा  छन् ।  उनले बालगृहमा बसेका बालबालिका बाहिर आएपछि उनीहरूको पक्षमा सिपमूलक कार्यक्रमका योजना बनाउनुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय बाल अधिकार परिषद् कर्णालीका समन्वय अधिकारी डम्बर रोकायले काठमाडौँमा रहेका बालगृहमा रहेका बालबालिकामध्ये धेरै कर्णालीका रहेको तर यकिन तथ्याङ्क नभएको बताए। हालसम्म कर्णालीमा १२ वटा बालगृह रहेको र त्यहाँ ४४४ जना बालबालिका आश्रित रहेको जानकारी दिए। हिमाली नवीन संस्थाका टिम लिडर सुरेन्द्र लामाले बालबालिकालाई बालगृहमा राख्नुभन्दा पारिवारिक पुनःएकीकरणलाई प्राथमिकता दिइनुपर्ने बताए।  उनले ५१३ जना बालबालिकामा गरिएको अध्ययन अनुसार ७१ प्रतिशत जैविक परिवारमा, २४ प्रतिशत नातेदार परिवारमा, १० प्रतिशत संरक्षकको जिम्मा लगाउनुपर्ने र चार प्रतिशत मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा रहने गरेको पाइएको बताएका छन्। बालगृहमा बसेपछि उमेर पुगेका र बाहिरिएका युवकयुवतीको पक्षमा अब ध्यान दिइनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया