दैलेखमा वन डढेलो रोकथाम अभियान तीव्र
आगलागी रोकथामका लागि क्वीक रेस्पोन्स टीम देखि सचेतना बढाउनेसम्म

दैलेख - सुख्खा मौसमको आगमनसँगै वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । हरेक वर्षको जस्तै सुख्खा मौसमका कारण यस वर्ष पनि आगो लाग्ने जोखिम बढेको छ । आगलागीबाट हुने क्षतिको मात्रा कम गर्नका लागि देशभरका जिल्लाहरूमा तयारी भइरहेको छ ।
डढेलो सचेतना सप्ताह सुरु भएसँगै दैलेखमा पनि सप्ताह औपचारिक रूपमा सुरु भएसँगै डढेलो रोकथामका लागि तयारी तीव्र गरिँदैछ । वन डढेलोको रोकथामका लागि जनचेतना, प्रभावकारी कार्ययोजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
जङ्गलमा आगो लाग्नु भनेको केवल वनस्पति र वन्यजन्तुको नाश मात्र नभएर, वरिपरिका मानव बस्ती र कृषि उत्पादनको लागि पनि एक गम्भीर खतरा हो । आगलागीका कारण कृषि र वन्यजन्तुका स्रोतहरूमा निर्भर गर्दै आएका स्थानीय समुदायहरूलाई सीधा असर पुर्याउँछ । यसका साथै, जंगलको जैविक विविधता र जलवायु परिवर्तनमा यसको भूमिका समेत आगोको दुष्परिणामले संकटमा पर्छ ।
यस सचेतना सप्ताहको प्रमुख उद्देश्य भनेको सामुदायिक सहभागिता मार्फत आगलागी नियन्त्रणका लागि सम्पूर्ण समुदायलाई सजग बनाउनु रहेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी बताउँनुहुन्छ ।
यो सुख्खा याममा आगलागीका घटना बढ्ने भएकाले पहिलो कुरा सम्पूर्ण नागरिक सचेत हुनुपर्छ,’उहाँले भन्नुभयो, ‘पहिलो कुरा हामी आफै सजग बनौँ, यदि आगलागी भइहालेमा पनि स्थानीय तह र वन विभागका कर्मचारीहरूको प्रयास मात्र सम्भव हुँदैन, सम्बन्धित निकायलाई सम्पर्क गर्ने वा सामुहिक रूपमा आगो नियन्त्रणमा सहयोग गरौँ ।’
आगलागी नियन्त्रणका लागि योजना
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आगलागीको प्रभावलाई नियन्त्रणमा राख्न कार्ययोजना बनाइएको बताउनुभयो ।
‘नियन्त्रणका लागि वन कार्यालय र स्थानीय तह र जिल्ला स्थित सम्पूर्ण टीमलाई सक्रिय रूपमा राखेका छौँ,’ उहाँले भन्नुभयो ।
सचेत हुँदा हुँदा पनि यदि आगलागी भइहालेमा वा आगलागीका कारण क्षती भएमा सरकारले क्षतीपूर्ती उपलब्ध गराउने जैसीले बताउनुभयो । ‘आगलागीका कारण घर पूर्ण रुपमा जलेमा बढीमा १५ हजार रुपैयाँसम्म क्षतिपूर्ति, जलेर घाइते भएमा ३ हजार, र मृत्यु भएमा २ लाख रुपैयाँ सरकारले क्षतिपूर्ति पाउने व्यवस्था छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै डिभिजन वन कार्यालय दैलेखका डिभिजन वन अधिकृत राधा कृष्ण दासले आगलागी नियन्त्रणका लागि सामुदायिक वन अन्तर्गत जनचेतना कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । ‘सामुदायिक वनमा आगलागीको जोखिम कम गर्नका लागि विभिन्न कदमहरू चाल्ने निर्णय भएको छ,’ दासले भन्नुभयोे, ‘हामीले सामुदायिक अन्तक्रिया गोष्ठी गर्दै आएका छौँ, जसमा स्थानीय समुदायलाई आगलागी नियन्त्रणका उपाय र सावधानीका बारेमा जानकारी दिइनेछ ।’
आगलागी नहोस भन्नका लागि बाटोको वरिपरि १५ देखि २० मिटर सम्मका सुकेका पात, पतिङ्गर र दाउरा जम्मा गर्ने र यसलाई नियन्त्रित तरिकाले जलाउने वा हटाउने भन्ने कुरा भएको उहाँले बताउनुभयो ।
‘बाटोका ठाउँ ठाउँमा अग्नि नियन्त्रणका जस्ता निर्माण गरेका छौँ । रेनजरहरूको कार्यक्षेत्रमा नियुक्ति गरिनेछ र जिल्ला स्थित सम्पूर्ण सुरक्षा टीम, रेडक्रस लगायतको क्विक रेस्पोन्स टीम (क्यु आरटी) को व्यवस्था पनि गरिएको छ, जसले आगलागीका घटना भएमा तत्काल नियन्त्रण तथा उद्धार गर्छ,’उहाँले भन्नुभयो ।
जनचेतना कार्यक्रम र कारवाही
आगलागीको रोकथामका लागि, स्थानीय रेडियो मार्फत जनचेतना कार्यक्रम चलाइएको छ । विगतका आगलागीका घटनालाई ध्यानमा राख्दै यसपाली आगलागीका घटनामा कमी आउने आशा गरिएको अधिकृत दासले जानकारी दिनुभयो । सामुदायिक वन र सब डिभिजन वन कार्यालयले स्थानीय तहसँग मिलेर आगलागी नियन्त्रणमा जनसहभागिता बढाउने उहाँले बताउँनुभयो ।
त्यस्तै वन क्षेत्रमा कोही कसैले दाउरा जलाएको, आगो लगाएको वा लापरवाहीका कारण डढेलो लागेको पाइएमा वन ऐन अन्र्तगत ६० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय हुने अधिकृत राधा कृष्ण अधिकृत दासले बताउनुभयो । ‘वन क्षेत्रमा कोही कसैले दाउरा बालेको, आगो लगाए वा लापवाहीका कारण डढेलो लागेको पुष्टी भएमा हामी तुरुन्तै वन ऐन अन्र्तगत कार्वाही गछौँ,’उहाँले भन्नुभयो ।
आगलागनी हुन नदिनका लागि आफूहरु पूर्ण रुपमा तयारी अवस्थामा रहेको आठविस नगरपालिका नगरप्रमुख तर्क बहादुर बडुवालले बताउँनुहुन्छ ।
अरुले यो सचेतना सप्ताह भनेर देखावटी रुपमा गर्ने भएपनि हामीले गम्भिर रुपमै आगलागीका घटना नहुन दिनका लागि पुष महिनाबाटै सचेत गराउँदै आएका छौँ,’उहाँले भन्नुभयो, ‘आगलागीका विषयमा हामी गम्भिर छौँ, पुष महिना देखि नै हामीले यहाँका प्रत्येक वडाका टोल, टोलमा यहीँका स्थानीयद्धारा भन्न लगाउँदै सचेत गराउँदै आएका छौँ ।’
गत वर्ष आठविस नगरपालिका –६ स्थित माल्या जंगलमा भएको आगलागीमा परी ठूलो धनजनको क्षती भएको थियो ।
प्रतिक्रिया