राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गर्नुभएको छ । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उहाँले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गर्नुभयो ।
आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोज्नुभएको थियो । तर, सभामुखले उहाँलाई अनुमति दिनुभएन । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गर्नुभयो ।
रघुजीलाई कटाक्ष गर्दै शाहीले भन्नुभयो, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’
शाहीले अहिले व्यवस्थाको पक्षमा बोल्ने अधिकांश गणतन्त्रवादी नेताका छोराछोरी युरोप अमेरिकामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यिनीहरूका छोराछोरी युरोप(अमेरिकामा पढिरहेका छन्, गरिब-दुखीका छोराछोरी दुबई र खाडीमा बेल्चा हानिरहेका छन् । यो १६ वर्षमा १४ हजार नेपाली रातो बाकसमा फर्किए । देशको ऋण २६ खर्ब पुग्यो । कर्मचारी, नेता, सांसद, मुख्यमन्त्री, मन्त्री सबै पाल्दापाल्दै १ वर्षमा १५ खर्ब खर्च हुन्छ । यसैका लागि यो व्यवस्था जोगाउन खोजिएको हो । यो व्यवस्था जनतालाई चाहिएको होइन ।’
प्रतिक्रिया