राउटे समुदायको महाशत्रु सँग मित्रता जोडिदै

राउटे समुदायको महाशत्रु सँग मित्रता जोडिदै सुर्खेतको एक कार्यक्रममा सहभागी राउटे युवा हस्ताक्षर गर्दै ।

दैलेख । कुनै बेला राउटे समुदायका व्यक्तिहरुले भन्थे—लेखपढ, खेतीपाती र स्थायी बसोबास हाम्रा महाशत्रु हुन् । तर पछिल्लो समय राउटे समुदायमा परिवर्तन आउन थालेको छ । राउटे युवाहरु कुनैबेला महाशत्रु भन्ने गरेको लेखपढलाई बढवा दिन थालेका छन् ।
राउटेका बुढापाकाले लेखपढलाई अस्वीकार गरेपनि पछिल्लो पुस्ताका युवा र बालबालिका भने सहजै स्वीकार गरेका छन् । एक निराक्षर समुदायलाई गैरसरकारी संस्था सोसेक नेपालले राउटे समुदायमा जोडी शिक्षक राखेर साक्षर बनाइरहेको छ । राउटे जहाँ बसाई सर्छन्, त्यही पुगेर बालबालिकालाई मनोरञ्जनका खेल खेलाउने, पढाउने गरेको संस्थाका कर्मचारी लालबहादुर खत्रीले बताए । ‘सुरुसुरुमा बुढापाका राउटेले पढाउन दिएनन्,’ उनले भने, ‘लुकेर पढायौं । भिडियो मार्फत सिक्न लगायौं । अनि पढ्न, लेख्न थाले । पछिल्लो पुस्ताले परिवर्तन चाहेपनि बुढापाका कुलधर्म विरुद्ध हुने भन्दै परम्पराको निरन्तरता चाहन्छन् ।’
आजभोली पछिल्लो पुस्ताका बालबालिकाहरु सबैले नाम लेख्छन । हस्ताक्षर गर्छन् भने अक्षर चिन्न थालेको उनले बताए । 
राउटे परियोजनाको जोडी शिक्षकले गर्दा राउटे समुदायका बालबालिकामा परिवर्तन आउनुका साथै अक्षर चिन्दा आफुलाई खुसी लागेका सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । ‘हाम्रो उद्देश्य भनेको राउटे परिवर्तन चाहान्छन्,’ उनले भने, ‘यो सम्भव छ भनेर कार्यक्रम सञ्चालन ग¥यौं । एउटा निराक्षर समुदायलाई साक्षर बनायौं ।’
उनका अनुसार कुनै बेला सामाजिक सुरक्षा भत्ता बुझ्ने बेला, कार्यक्रममा सहभागी भएको बेला औँठा छाप लगाउने राउटे समुदाय आजभोली हस्ताक्षर गर्छन् । 
पछिल्लो पटक अन्तरक्रिया गर्ने, गैरराउटेका बालबालिका राउटेका बारे ज्ञान लिने, राउटेले गैरराउटेको बालबालिका बारे ज्ञान लिने गर्दा राउटे–गैरराउटे बालबालिकाबिच ज्ञान आदानप्रदान भएको उनले बताए ।
राउटे मुखिया सुर्यनारायण शाही भन्छन्, ‘हामी त पढदैनौं । त्यो त तपाईहरुले पढने हो, हामी पढयौं भने त हामी राउटे हुँदैनौँ ।  तर बालबालिका पढ्छन । अब हाम्रा छोराछोरी परिवर्तन हुन्छन्, होला, राउटे सकिन्छ होला,’उनले भने, ‘राउटे पनि तपाई दुनियाँ जस्तै हुन्छ होला । तर पढने काम हामीले कुनै रोकावट गरेका छैनौं ।’
पढाईले आफुलाई यताउता जाँदा हिडडुल गर्दा सजिलो राउटे युवा दीपक शाहीले बताए । ‘बजारमा गयाँ बेला यो ठाउँ कहाँ भनी सोध्नु परेन, आफुले कहाँ आयौं भनेर होटल, पसलको बोर्डमा लेखेको हुन्छन् नि,’ उनले भने । 
दिपक जस्तै बुझाई रहेको राउटे युवती गाँजली शाहीको पनि छ । उनी भन्छिन्, ‘पहिला त हामी कार्यक्रममा गएर पनि क्या लेख्याको होला पढन जानेको भए भन्ने लाग्थ्यो । अरुले जे सुनायौ, त्यही साँचो लाग्थ्यो, आजभोली अक्षर चिन्ने भएपछि यो कार्यक्रम रहेछ । यो गाउँपालिका पुग्यौं अक्षरबाट थाहा हुन्छ ।’
कु–काठका भाँडाकुँडा र सामग्री बनाई अन्नसँग साटेर जीविका चलाउने एउटै मात्र यो समुदायको सीप हो । नरम काठका कोसी मदुस, झुमा, खाट, पिर्का आरी लगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्छन् । 
पछिल्लो समय राष्ट्रिय वन सामुदायमा हस्तान्तरण हुँदा राउटेले चाहे अनुसारको कु–काठ काट्न पाउँदैनन् । जसले गर्दा पुख्र्यौली पेसा हट्ने होकी भन्ने चिन्ता उनीहरुमा रहेको पाइन्छ । पहिला कु–काठका भाँडाकुडा बनाएर अन्न सँग साट्थे । अब काठ नै काट्न नदिएपनि बाँच्न गाह्रो भइरहेको उनीहरुको भनाइ छ ।
फरक रहनसहन, भेषभुषा, चालचलन, रितिरिवाज र संस्कृतिले राउटे समुदायले नेपाललाई विश्वभरी चिनाएको छन् । जसले गर्दा सांस्कृतिक विविधतामा एक ईट्टा थपेका छन् । नेपाल सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने यो जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील समुदाय हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, सुदुरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, बाँके जिल्लाका आसपासका जंगलमा फिरेन्त जीवनयापन गर्दै आएका छन् ।
नदीको किनारा, पहाड, टाकुरा जंगलमा बसाई सरिरहने यो समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ । कुन सिजनमा कहाँ जाने हो भनेर योजनाबद्ध ढंगले मात्र बसाई सर्छन् । स्वार्थविहीन यो समुदायले आफुलाई ‘जंगलको राजा’ भन्न औधी मनपराउँछन् ।
नेपालमै बसोबास बसेपनि नागरिकता लिन अस्वीकार गरिरहेका छन् । नागरिकता लिन तीनै तहले प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्ने यो समुदायको सान उत्तिकै गौरव गर्न लायक छ । तीनै तहका सरकारले लोपोन्मुख जातीको उत्थानको लागि प्रयास गरेपनि कुलधर्म विरुद्ध हुने भन्दै अस्वीकार गर्दै आएका छन् । तर सामाजिक सुरक्षाको भत्तालाई भने सहजै स्वीकार गरेका छन् । 

प्रतिक्रिया