थापा बने प्रहरी प्रमुखः पहिलो वरीयतालाई नै निरन्तरता

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औं प्रमुखमा दीपक थापालाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घन्टा बाँकी रहँदा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार तीन अतिरिक्त महानिरीक्षक (एआईजी)मध्ये पहिलो वरीयताका एआईजी थापालाई प्रहरी नेतृत्व सुम्पेको हो ।
‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्न सक्नेछ,’ प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख छ ।
त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरूबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्नु सामान्य बन्दै गएको छ । यसपटक पनि आकांक्षीहरूले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास जारी राख्दा सरकारले पहिलो वरीयतामा रहेका थापालाई नै आईजीपी बनाएको हो । यसअघि वरीयता मिचेर आईजीपी बनाउँदा सरकारले अपजसको भारी बोक्नुपरेको थियो । यद्यपि, अन्य दुई आकांक्षीभन्दा थापा दुई साताअघि मात्रै एआईजीमा बढुवा भएका थिए ।
प्रहरी महानिरीक्षक कुँवर आइतबार रातिबाट अवकाशमा गइसकेका छन् । कुँवरलाई पनि तत्कालीन सरकारले वरीयतामा एक नम्बरमा रहेकै कारण ३०औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबार (आज)बाट औपचारिक रूपमा कार्यभार सम्हाल्दै छन् । मंगलबार बिहान गृहसचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
थापाले कार्यभार सम्हाल्ने क्रममा आज बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ । उनलाई सोमबार साँझ नै प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गरेका थिए ।
थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः सुदीप गिरी र टेकबहादुर तामाङ अब एआईजीबाटै बिदा हुनेछन् । थापा, गिरी र तामाङले १९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट एकसाथ नेपाल प्रहरी जीवन सुरु गरेका थिए । हालको प्रहरी नियमावलीअनुसार थापा आगामी १८ भदौसम्म प्रहरी नेतृत्वमा रहनेछन् । संसद्मा दर्ता भएको प्रहरी ऐनको प्रस्तावित विधेयक यसबीचमा पास भए सबैको सेवा अवधि लम्बिनेछ ।
नवनियुक्त प्रहरी प्रमुख थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।
को हुन् नवनियुक्त प्रहरी प्रमुख थापा ?
८ मंसिर २०२८ मा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जन्मिएका थापा भक्तपुरबाट प्रहरीको आईजीपी हुने दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरिसकेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक थापाले कानुनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
प्रहरी सेवामा प्रवेश गर्नुअघि थापा शिक्षण पेसामा संलग्न थिए । आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थापाले २०४८ सालमा शिक्षा सेवा आयोगको परीक्षा दिएर निमावि शिक्षकमा नाम निकालेका थिए । भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि भक्तपुरमा पढाउन थालिसकेका थिए । उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए ।
१० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेपछि उनले दर्खास्त दिएका थिए । दर्खास्त दिएकामध्ये ३०औं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ६० जना उत्तीर्ण हुँदा पहिलो चरणमा ५२ जनालाई मात्र नियुक्ति दिइएको थियो । पहिलो चरणमा प्रहरी निरीक्षक बन्न नसकेका थापाले ६ महिनापछि १९ भदौ २०५२ मा मात्रै नियुक्ति पाएका थिए । यही कारण उनलाई प्रहरी महानिरीक्षक बन्ने अवसर जुरेको हो । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय साँगा, बुटवल र रौतहटको गरुडामा नेतृत्व गर्ने अवसर पाएका छन् ।
उनी प्रहरी वृत्त महाराजगन्जको पनि प्रमुख रहिसकेका छन् । उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमान्ड सम्हालिसकेका छन् ।
यस्तै, उनले बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा समेत काम गरिसकेका छन् । थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएरसमेत काम गरेका छन् ।
एसएसपी छँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका थापाले डीआईजी छँदा बाग्मती प्रदेश प्रहरीको नेतृत्व गरेका थिए । त्यसपछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे ।
बेरुजु फछ्र्योट कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेकाले थापालाई २०७५, २०७६, २०७७ र २०७८ सालमा प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो । प्रहरी कार्य (पुलिसिङ), मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापनसहित विपद् व्यवस्थापनमा उनको विशेष अनुभव रहेको मानिन्छ ।
प्रहरी महानिरीक्षकसँगै ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा
नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थानुसार सेवा अवधिको ३० वर्षे समय पूरा गरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित पाँच एआईजी र तीन डीआईजीले सोमबार मध्यरातबाट अवकाश पाएका छन् । उनीहरू ५ चैत २०५१ मा निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका थिए ।
अवकाश पाउने एआईजीमा प्रधान कार्यालयमा कार्यरत अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभाग (अपरेसन) प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई छन् ।
यस्तै, अवकाश पाउने डीआईजीमा गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल, सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द र ध्रुव राउत छन् । राजधानीबाट
प्रतिक्रिया