मौसमी राडारलाई चाँडो सञ्चालनमा ल्याउन कांग्रेस सांसद थानीको आग्रह

मौसमी राडारलाई चाँडो सञ्चालनमा ल्याउन कांग्रेस सांसद थानीको आग्रह

सुर्खेत –    प्रतिनिधिसभाका सांसद हृदयराम थानीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडारलाई यथाशक्य चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । कर्णाली, सुदूरपश्चिम, र लुम्बिनी प्रदेशको जलवायु जानकारी प्रदान गर्ने उक्त मौसमी राडार दुई वर्षदेखि बिग्रिएको छ। 

सांसद थानीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आवश्यक पहल गर्न माग गर्दै, राडारका स्पेयर पार्ट्स बिग्रिएका कारण लामो समयदेखि सञ्चालनमा आउन नसक्नु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुभयो ।

सांसद थानीका अनुसार मौसमी सूचना, हावापानी पूर्वानुमान, वर्षाको गति तथा अन्य संवेदनशील जानकारी प्रदान गर्ने प्रणाली अवरुद्ध हुनु विशेष गरी कर्णाली प्रदेशका लागि अत्यधिक जोखिमपूर्ण छ। उहाँले आसन्न वर्षायामलाई मध्यनजर गर्दै विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि मौसमी राडारलाई शीघ्र सञ्चालनमा ल्याउनेतर्फ तीनै तहका सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । 

‘विपद् व्यवस्थापनका लागि अति महत्वपूर्ण यो प्रविधि अवरुद्ध हुँदा प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकस परेको छ,’ उहाँले भन्नुभयो, ‘तसर्थ, जोखिम न्यूनीकरण तथा प्रभावकारी सूचना प्रणाली विकासका लागि मौसमी राडारलाई यथाशक्य छिटो सञ्चालनमा ल्याउन आवश्यक छ।’

प्रतिक्रिया