भैरवीमा बाल संरक्षण र लैङ्गिक समानता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न

भैरवीमा बाल संरक्षण र लैङ्गिक समानता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न

दैलेख – जिल्लाको भैरवी गाउँपालिकामा बाल संरक्षण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तथा मनोसामाजिक क्षमता विकाससम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ।

एइआईएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा भैरवी गाउँपालिकामा संचालित आधार परियोजनाको आयोजनामा सञ्चालन गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी शाही रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष देवी भण्डारी सहभागी हुनुहुन्थ्यो । साथै, कार्यक्रममा निजामती प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, प्रहरी चौकीका प्रतिनिधि, भैरवी गाउँपालिकाका १ देखि ७ वडासम्मका आमा समूह, युवा क्लब तथा बाल क्लबका सदस्यहरू गरी जम्मा ३४ जना सहभागी रहेको आधार परियोजनामा कार्यरत सम्झना थापाले जानकारी दिनुभयो । 

 उहाँका अनुसार कार्यक्रममा बाल संरक्षण, बाल अधिकार तथा बाल विकासका विभिन्न पक्षबारे छलफल गरिएको थियो। सहभागीहरूका लागि बाल अधिकारसम्बन्धी नीति, स्थानीय तहको भूमिकालगायत विषयमा जानकारी दिइएको थियो ।

त्यस्तै बाल संरक्षणबारे जानकारी नपाएका बालबालिकाहरूले नीति तथा कानुनी व्यवस्थाका विषयमा सिक्ने अवसर पाए । बाल अधिकार भनेको के हो ? कसरी सुनिश्चित गर्न सकिन्छ ? बाल विकासलाई कसरी प्रभावकारी बनाउने ? जस्ता विषयमा विस्तृत छलफल गरिएको  ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले बाल संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

'बाल संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। समुदायमा हरेक व्यक्तिको समान पहुँच र अवसर सुनिश्चित गर्न गाउँपालिका निरन्तर क्रियाशील रहनेछ,' भन्दै स्थानीय सरकारको निरन्तरको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी निर्जला बाल क्लबका अध्यक्ष तथा भैरवी गाउँपालिका(४ का भुपेन्द्र बिकले बाल संरक्षणका विषयमा पहिले स्पष्ट जानकारी नभएको बताउनुभयो ।

'हामीलाई बाल संरक्षण, लैङ्गिक समानता के हो भन्ने जानकारी थिएन । कार्यक्रममा सहभागी भएपछि मात्रै यसको महत्त्व बुझ्न सकेँ। अब म सिकेका कुराहरू अन्य साथीहरूलाई पनि साझा गर्नेछु। साथै, पिछडिएका बालबालिकाहरूलाई अगाडि बढाउन गाउँपालिकाले थप सहयोग गर्नुपर्छ,' भुपेन्द्रले भन्नुभयो ।

कार्यक्रमका अन्य सहभागीहरूले समाजमा समानता, समावेशीकरणको अभ्यास र पिछडिएका बालबालिकाको विकासमा योगदान दिन सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया