'नेपालमा सर्वसुलभ स्वास्थ्य सेवाका लागि व्यापक बिमा आवश्यक'

'नेपालमा सर्वसुलभ  स्वास्थ्य सेवाका लागि व्यापक बिमा आवश्यक'

काठमाडौँ – प्रतिनिधि सभा सदस्य डा. सुनिल कुमार शर्माले ग्रामीण भेगका सिमान्तकृत, पिछडिएका तथा विपन्न समुदायका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न  स्वास्थ्य बिमा योजना आवश्यक रहेको बताउनुभएको छ।

संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै सांसद शर्माले स्वास्थ्य उपचार खर्चको अभाव, कमजोर आर्थिक अवस्था र जनचेतनाको कमीका कारण धेरै नागरिक आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका उल्लेख गर्नुभयो। उहाँले नेपालका सबै नागरिकलाई छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउन व्यापक स्वास्थ्य बिमा प्रणाली लागू गर्न आवश्यक रहेको औंल्याउनुभयो।

सांसद शर्माको प्रस्तावलाई समर्थन गर्दै  प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले स्वास्थ्य सेवा ग्रामीण भेगसम्म प्रभावकारी रूपमा पुर्‍याउनु सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो।

'नेपालका अधिकांश नागरिक आधारभूत स्वास्थ्य, शिक्षा तथा अन्य सेवामा सहज पहुँच नपाउँदा गाउँहरू रित्तिँदै गएका छन्। राम्रो स्वास्थ्य सेवा अभावकै कारण मानिसहरू शहरतर्फ आकर्षित भएका छन्, जसले उत्पादनशील जमिनसमेत बाँझो बन्न पुगेको छ,' उहाँले भन्नुभयो।

 नेपालको संविधानमा उल्लेख गरिएको बाँच्न पाउने मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै, विशेष गरी महिला, बालबालिका तथा जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य समस्याहरूको समाधान हुनुहपर्ने सांसद रानाले बताउनुभयो ।

हालको स्वास्थ्य बिमा प्रणाली प्रभावकारी नभएको उल्लेख गर्दै उहाँले स्वास्थ्य बिमा कार्ड जुनसुकै स्थानमा देखाउँदा सहज रूपमा उपचार प्राप्त हुने व्यवस्था हुनुपर्छ। नागरिकहरूले जहाँ उपचार गर्छन्, त्यहीँ आवश्यक औषधि उपलब्ध गराइने प्रणाली विकसित गर्न आवश्यक छ,' भन्नुभयो।


 

प्रतिक्रिया