कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विवाद तत्काल समाधान गरियोस् : सांसद थानी

काठमाडौँ – प्रतिनिधि सभा सदस्य हृदयराम थानीले बाँकेको बानीयाबारमा उत्पन्न विवादका कारण अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माण कार्य तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
संसदको बैठकमा बोल्दै सांसद थानीले कर्णाली प्रदेशको दयनीय विद्युत आपूर्ति अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँका अनुसार, नेपाल विद्युत प्राधिकरणले करिब तीन वर्षदेखि (एनइए आइभिपी) प्रोजेक्ट मार्फत कर्णालीका जिल्लाहरुमा पुर्ण विदुतीकरणको काम गरिरहेको भएपनि हालसम्म पनि काम सम्पन्न हुन सकेको छैन ।
नेपाल सरकारले देशभर ९८ प्रतिशत जनसंख्यालाई विद्युत पहुँचमा पुर्याएको दाबी गरे पनि कर्णाली प्रदेशमा मात्र ५७ प्रतिशत घरधुरी मात्र विद्युत सेवा पाएका छन् । यो स्थिति न्यूनतम आधारभूत सुविधाको अभावलाई दर्शाउने गम्भीर अवस्था भएको सांसद थानीले औंल्याउनुभयो ।
विगत ३६ वर्षदेखि सञ्चालनमा रहेको कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइन कर्णाली प्रदेशको प्रमुख ऊर्जा आपूर्ति स्रोत हो । तर, कम भोल्टेज, हावाहुरी चलेपछि विद्युत अवरुद्ध हुने, लोडसेडिङ जस्ता समस्या स्थानीय बासिन्दाका लागि नियमित चुनौती बनेको छ। उहाँले भन्नुभयो, “३३ केभी प्रसारण लाइनले अहिलेको जनसंख्या धान्न सक्ने अवस्था छैन। कर्णाली प्रदेशका दशवटै जिल्लामा स्थायी रूपमा विद्युत समस्या समाधान गर्न १३२ केभी प्रसारण लाइन निर्माण अपरिहार्य छ।”
नयाँ प्रसारण लाइनको निर्माणले कर्णालीमा विद्युत आपूर्तिमा स्थायी समाधान ल्याउने आशा गरिएको छ । तर, बाँकेको बानीयाबार क्षेत्रमा देखिएको विवादका कारण १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अवरुद्ध भएको छ । सांसद थानीले उक्त विवाद तत्काल समाधान गरी परियोजनालाई शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले भन्नुभयो, 'कर्णाली प्रदेशको समग्र विकासका लागि विद्युत आपूर्ति अवरोध रहनु हुँदैन । तसर्थ, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अवरोध हटाई यथाशीघ्र कार्य सम्पन्न गर्न सरकार गम्भीर बनोस् ।'
प्रतिक्रिया