कैदीबन्दीले पाउनुपर्ने सेवा सुविधाको सुनिश्चित गरियोस् : सांसद राना

काठमाडौँ - प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले देशभरका कारागारमा रहेका कैदीबन्दीलाई न्यूनतम सेवा तथा सुविधाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
बिहीबार संसदको शून्य समयमा बोल्दै सांसद रानाले कैदीबन्दीको स्वास्थ्य र अन्य सुविधासम्बन्धी विषयमा पटक–पटक आवाज उठाए पनि हालसम्म प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, 'मैले यसअघि पनि कैदीबन्दीहरूले पाउनुपर्ने न्यूनतम सेवा–सुविधा निरन्तर उपलब्ध गराउनुपर्छ भन्ने माग संसदमा उठाइसकेको छु। तर, अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।'
हाल देशभर ७६ वटा कारागारमा जम्मा २९ हजार चारसय ३५ जना कैदीबन्दी रहेका छन्, जसमा १ हजार ६३० जना महिला रहेको सांसद रानाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कारागारमा रहेका कैदीबन्दीहरुमध्ये ६३ प्रतिशत अर्थात् १८ हजार ६५८ जना विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन् ।
कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्यांकअनुसार ६ हजार २८३ जना कैदीहरू क्यान्सर, मिर्गौला, क्षयरोग, एचआईभी एड्स, उच्च रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) जस्ता दीर्घ रोगबाट पीडित छन् । साथै, १२ हजार ३७५ जना कैदीहरू छाला, आँखा, कान तथा दाँतसम्बन्धी समस्याबाट ग्रसित रहेको उल्लेख गर्दै उहाँले उनीहरूको उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रानाले सरकारलाई कारागारभित्र स्वास्थ्य सेवामा सुधार ल्याउन तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दै कैदीबन्दीहरूको आधारभूत हक सुनिश्चित गर्न पहल गर्न अनुरोध गर्नुभयो ।
प्रतिक्रिया