जातीय विभेद उन्मूलन अभियानमा सोसेक नेपालको ऐक्यवद्धता

काठमाडौँ - नेपालमा जातीय विभेद तथा असमानताको अन्त्यका लागि सोसेक नेपालले ऐक्यवद्धता जनाएको छ। शुक्रबार सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाद्वारा जारी गरिएको विज्ञप्तिमा जातीय भेदभाव अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदी कानुनको विरोधमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गोली चलाइँदा ६९ जना अधिकारकर्मीले ज्यान गुमाएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए। उक्त दुःखान्त घटनाको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ लाई रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको थियो।
विश्वभर यो दिवस रंगभेद विरुद्धको अभियानलाई स्मरण गर्दै मनाइन्छ, भने नेपालमा पछिल्ला केही वर्षदेखि यसलाई जातीय विभेद उन्मूलन दिवसको रूपमा मनाउने गरिन्छ।
समानता, स्वतन्त्रता र गरिमासहितको जीवन बिताउने अधिकार प्रत्येक नागरिकको नैसर्गिक हक हो । कुनै पनि व्यक्तिलाई जात, धर्म, लिङ्ग, पेशा, भाषा वा क्षेत्रका आधारमा भेदभाव गर्न नपाइने कानूनी प्रावधान नेपालमा भए तापनि व्यावहारिक रूपमा जातीय विभेदको अन्त्य हुन सकेको छैन। विशेष गरी, दलित समुदाय अझै पनि सामाजिक, आर्थिक, तथा राजनीतिक असमानतासँग संघर्ष गर्न बाध्य छन्।
विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा २४ ले छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ भने धारा ४० ले दलित समुदायका लागि विशेष अधिकारको व्यवस्था गरेको छ। साथै, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०७५’ लगायतका कानूनी प्रावधानहरू भए तापनि तिनको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ।'
रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका अवसरमा, सोसेक नेपालले जातीय विभेद विरुद्धको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थाले जातीय विभेदको अन्त्य, सामाजिक न्याय, समान अवसर र समावेशी समाजको निर्माणका लागि सबै पक्षको ऐक्यवद्धता आवश्यक रहेको बताएको छ। साथै, यस अभियानलाई अझ प्रभावकारी बनाउन कानूनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा नीति सुधार आवश्यक रहेकोमा जोड दिएको छ।
प्रतिक्रिया