बबईमा अत्याधुनिक स्वचालित नम्बर प्लेट पहिचान प्रणाली सञ्चालन

सवारीसाधनहरूको गतिविधि जुनसुकै स्थानबाट निगरानी गर्न सकिने

बबईमा अत्याधुनिक स्वचालित नम्बर प्लेट पहिचान प्रणाली सञ्चालन

काठमाडौँ -  कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार बबईमा स्वचालित नम्बर प्लेट पहिचान (एनपिआर) प्रणाली जडान गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यस अत्याधुनिक प्रविधि (एनपिआर)को उद्घाटन गर्नुभएको हो ।

प्रदेश सरकारद्वारा स्थापित डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान प्रणालीले अब प्रदेश भित्रिने तथा बाहिरिने सबै सवारी साधनको विवरण स्वचालित रूपमा डिजिटल रूपमा रेकर्ड गर्न मद्दत गर्ने मुख्यमन्त्री कँडेलले बताउँनुभयो ।

यो प्रविधि जडानले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनका साथै सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छु',मुख्यमन्त्रीले भन्नुभयो, ' स्वचालित  (एनपिआर) प्रणाली (एनपिआर) प्रविधि जडान भएसँगै अब सवारी साधनहरूलाई रोक्नुपर्ने झन्झट हट्नेछ। नम्बर प्लेट स्वचालित रूपमा पहिचान गरी रेकर्ड राखिने भएकाले ट्राफिक व्यवस्थापन सहज बन्नेछ। साथै, सवारीसम्बन्धी अपराध तथा कानुनविपरीतका गतिविधिहरू पत्ता लगाउन तथा अनुसन्धानमा ठूलो सहायता पुग्ने विश्वास गरिएको छ ।'

डिजिटल प्रविधिको प्रयोगले सवारीसाधनहरूको गतिविधि जुनसुकै स्थानबाट निगरानी गर्न सकिने भएकाले प्रदेशमा सुशासन, सुरक्षा तथा यातायात व्यवस्थापन थप प्रभावकारी हुने अनुमान गरिएको छ। साथै, सन्दिग्ध गतिविधि पहिचान गर्न सकिने भएकाले आपराधिक गतिविधिहरूको नियन्त्रणमा पनि मद्दत पुग्ने बताइएको छ ।

त्यस्तै यो प्रविधि सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ। साथै, सम्बन्धित निकायका अधिकारीहरूलाई प्रविधिको प्रभावकारी प्रयोगका लागि आवश्यक तालिम प्रदान गरिएको छ।

प्रदेश सरकारले आधुनिक प्रविधिको उपयोग गर्दै यातायात व्यवस्थापन तथा सुरक्षा सुधार गर्न प्रतिबद्धता जनाएको छ। स्वचालित नम्बर प्लेट पहिचान प्रणालीको सञ्चालनले कर्णाली प्रदेशलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री यातायात प्रणालीतर्फ उन्मुख गराउने विश्वास गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो  ।

प्रतिक्रिया