भारतको सहयोगमा बहुउद्देश्यीय विद्यालय भवन शिलान्यास

भारतको सहयोगमा बहुउद्देश्यीय विद्यालय भवन शिलान्यास

दैलेख ।  भारत सरकारको अनुदान सहयोगमा दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय को बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरिएको छ।

सोमबार आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लु नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो ।

नेपाल–भारत विकास सहयोग अन्तर्गत ३.९ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय कक्ष तथा अन्य सुविधाहरू समावेश गरिनेछ ।

भारतीय दूतावासका अनुसार यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा कार्यान्वयन हुनेछ, जसलाई दुल्लु नगरपालिकामार्फत सञ्चालन गरिने बताइएको छ ।

नेपालमा भारतको विकास सहयोग

सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरेको छ, जसमध्ये ४९५ परियोजना सम्पन्न भइसकेका छन् । कर्णाली प्रदेशमा मात्रै १५ वटा परियोजनाहरू कार्यान्वयनमा छन् ।

शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ताहरू, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो। यो बहुउद्देश्यीय भवनले दैलेख क्षेत्रको शिक्षा तथा सांस्कृतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया