कर्णालीमा रैथाने कृषि प्रशोधन केन्द्र निर्माण गरिँदै

कर्णालीमा रैथाने कृषि प्रशोधन केन्द्र निर्माण गरिँदै

सुर्खेत– कर्णाली प्रदेश सरकारले रैथाने एवं परम्परागत खाद्य वस्तुहरुको बजार व्यवस्थापन र प्रर्वद्धनका लागि प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिक्री श्रृंखलालाई नाफामुखी बनाउन, त्यस्ता रैथाने उत्पादनको खरिद बिक्री सुनिश्चितता गर्ने उद्देश्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको जनाएको छ ।

मन्त्रालयका निमित्त सचिव परशुराम रावतका अनुसार सामग्री खरिद गरेर प्रशोधन केन्द्र निर्माण सुरु भएको हो । प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापनाका लागि चालू आवमा एक करोड ११ लाख बजेट विनियोजन गरेको छ । यद्यपि मन्त्रालयले उक्त बजेट अपुग हुने हुँदा तत्काल केन्द्र सञ्चालनका लागि दुई करोड ६५ लाख आवश्यक पर्ने बताएको छ ।

मन्त्रालयले निर्यात योग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुहरूको पहिचान झल्कने ‘मूल्यवान’ लोगो प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । मन्त्रालयका निमित्त सचिव रावतले प्रशोधन केन्द्र सञ्चालन गरेर उत्पत्ति प्रमाणपत्र, ब्राण्डिङ, क्यूआर कोड, लेबलिङ तथा गुणस्तर लोगो सहितका सामग्री बजारमा पठाउन लागिएको जानकारी दिए ।

कर्णाली प्रदेशमा रैथाने बालीका रूपमा उत्पादन हुने नौ वटा रैथाने प्रजातिका बालीहरूमा चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमी छन् । जसलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचिकृत गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७४ फागुनमा बसेको पहिलो बैठकले कर्णालीलाई अर्गानिक कृषिको आधारहरू तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७६ कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनमा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरूको उत्पादनका लागि छुटै लोगोको व्यवस्था गर्नुपर्ने उल्लेख छ । रैथाने बालीका रूपमा उल्लेखित नौ वटा बाली सूचीकृत गरी उक्त खाद्यान्न बिक्री गर्न लोगो प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकारले संरक्षणको नीति लिएसंगै प्रदेशमा रैथाने वस्तुको उत्पादन बढेको मन्त्रालयले दाबी छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले अधिकांश रैथानेबालीका उत्पादन कोशेली गृह हुँदै प्रदेशबाहिर निर्यात हुने बताउँदै भने, ‘कर्णालीको रैथाने उत्पादनको माग काठमाडौं, पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान लगायतका सहरदेखि विदेशसम्म हुने गरेको छ ।’ कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ६५ रैथाने बाली बिक्री केन्द्रका रूपमा कोशेली घर सञ्चालनमा छन् ।

प्रतिक्रिया