स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दैलेख महोत्सव हुँदै

स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दैलेख महोत्सव हुँदै

 

दैलेख  -  कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कलासंस्कृतिको संरक्षण सम्बद्र्धन गर्न दैलेख महोत्सव २०८१ संचालन हुने भएको छ । दैलेखमा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला तथा संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको हो ।

दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले यहि चैत्र २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो  । महोत्सव चैत्र २६ गते उद्घाटन गरिनेछ भने बैशाख ५ गते समापन हुनेछ।

संयोजक शाहीका अनुसार महोत्सवमा दैलेख जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषिजन्य वस्तुहरूको बजारिकरणका साथै लहरेपैँसरी नाँच, ढालतरवार नाँच, देउडा तथा रत्यौली नाँच, हुड्के नाँच, मयुर नाँच, टप्पा नाँच, गर्रा नाँचजस्ता सांस्कृतिक झलक प्रस्तुत गरिने छ ।

महोत्सवको अवसरमा नारायण नगरपालिका–७, किमुगाउँमा सञ्चालित वेद विद्याश्रम तथा नाभिस्थानमा सञ्चालित वेद विद्याश्रमलाई आवश्यक पर्ने एक वर्षभरि पुग्ने खाद्यान्न सहयोग गरिनेछ। साथै, नारायण नगरपालिका–६ स्थित शहीद मयाराम स्मृति प्रतिष्ठान पार्कमा सार्वजनिक शौचालय निर्माण गरिनेछ।

जिल्लामा लोपोन्मुख सांस्कृतिक सम्पदा तथा परम्परागत जीवनशैलीलाई जगेर्ना गर्न महोत्सव महत्वपूर्ण रहने संयोजक शाहीले बताउनुभयो  । स्थानीय परम्परागत शिल्प, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य महोत्सवले लिएको छ। साथै, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रहरूको प्रचारप्रसार गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा विज्ञापन तथा जिंगल प्रसारण गरिनेछ।

महोत्सव नौ दिनसम्म दैलेख सदरमुकामको काँडाचौरमा सञ्चालन हुनेछ। यस क्रममा जिल्लाको विविधता झल्काउने सांस्कृतिक झाँकी, भेषभूषा प्रदर्शन तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको अवलोकनको व्यवस्था मिलाइनेछ। साथै, स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ।

महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय तथा परम्परागत परिकार प्रदर्शनका लागि एक सयभन्दा बढी स्टल राखिनेछ। महोत्सवमा २५ देखि ३० लाख रूपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

महोत्सवको मुख्य आयोजक रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ शहर निर्माण केन्द्र दैलेख रहेका छन्। सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा दैलेख तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला शाखा दैलेख रहेका छन्। नारायण नगरपालिका महोत्सवको संरक्षक तथा प्रवर्द्धकको भूमिकामा रहेको छ।

महोत्सवमा दैलेख तथा छिमेकी जिल्लाहरू जाजरकोट, कालिकोट, अछाम र सुर्खेतबाट झन्डै ३० हजार दर्शक आउने अपेक्षा गरिएको छ। महोत्सव प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया