खाद्य स्वच्छता तथा गुण नियन्त्रण गर्न दैलेखमा बजार अनुगमन

दैलेख - खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागको अगुवाइमा दैलेख बजार अनुगमन सम्पन्न भएको छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकारहरूको संयुक्त टोली सहभागी थियो।
अनुगमनका क्रममा बजारमा पाइने खाद्यवस्तुहरूको गुणस्तर, सरसफाइ, उपभोग्य मिति, विषादी प्रयोगको अवस्था जस्ता विषयको निरीक्षण गरिएको थियो। विभागका प्रमुख भेष बहादुर थापाका अनुसार हाल बजारमा खाद्य वस्तुहरूमार्फत फैलिने रोगहरू वृद्धि भइरहेको पृष्ठभूमिमा उपभोक्ताहरूलाई सचेत गराउन अनुगमन गरिएको हो।
कालो मासको दालमा विषाक्त पालिस, बिक्रीमा रोक
बजारमा अधिक मात्रामा कालो मासको दाल पालिस गरिएको फेला परेको छ, जसमा क्यान्सर उत्पन्न गराउने तत्वहरू पाइने भएकाले यसको बिक्री रोक्न निर्देशन दिइएको छ। उपभोक्ता हित संरक्षण कार्यालयका प्रशासकीय अधिकृत प्रेम बहादुर विष्टले उपभोक्तालाई सचेत रहन आग्रह गर्दै आगामी दिनमा यस्ता विषाक्त खाद्यवस्तुको निगरानी अझै कडा बनाइने बताउनुभयो ।
अनुगमनका क्रममा कालो मासको दाल, म्याद सकिएको खुर्सानी पाउडर, बेसार पाउडर, फुरनदाना, रङ प्रयोग गरिएका जेरी, समोसा, पकौडा, चिसो जुस लगायतका करिब ४५ हजार रुपैयाँ बराबरका खाद्यवस्तु जफत गरि नष्ट गरिएको छ।
खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागकी प्राविधिक सहायक आसिका सुवेदीका अनुसार, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता वस्तुहरूमाथि निगरानी जारी राखिनेछ। विषाक्त वा म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।
प्रतिक्रिया