ठाटीकाँधमा उद्यमी र सरोकारवालाबीच समन्वय बैठक सम्पन्न

ठाटीकाँध - दैलेखको ठाटीकाँधमा उद्यमी र सरोकारवालाबीच समन्वय बैठक सम्पन्न भएको छ । सोसेक नेपालको सहकार्य परियोजनाअन्तर्गत ठाटिकाध गाउँपालिकामा उद्यमी र सरोकारवालाबीच समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, उद्योग वाणिज्य कृषि तथा पशु उद्यम विकास शाखाका प्रमुख र उद्यमीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा स्थानीय उद्यमीलाई अगरबत्ती उत्पादनका लागि आवश्यक कच्चापदार्थको उपलब्धता, बजार प्रवर्द्धन, प्याकेजिङ तथा मेसिनरी सामग्रीहरूको व्यवस्थापनबारे छलफल भएको सहकार्य परियोजना ठाटीकाँधमा कार्यरत कृषि प्राविधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार, स्थानीय सरकार र सोसेक नेपालले उद्यमीलाई आवश्यक मेसिनरी र बजार व्यवस्थापनमा सहयोग गर्नेछन् भने उद्यमीहरूले स्थानीय कच्चापदार्थ उपलब्ध गराएर व्यवसायमा कटिबद्ध भएर लाग्ने सहमति समेत भएको छ।
उद्यमीहरूलाई स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन र उत्पादनको बजार प्रवर्द्धनलाई प्राथमिकता दिने बैठकमा निर्णय भएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्न सोसेक नेपाल र गाउँपालिकाले थप सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया