कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण

कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण

सुर्खेत –  कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।

हरियो क्षेत्र पूर्ण अग्र्यानिक, पहेँलो क्षेत्र सामान्य, रातो क्षेत्र चिन्ताजनक मानिएको छ । मन्त्रालयले सबै वडालाई पूर्ण प्राङ्गारिक बनाउने योजना अगाडि सारेको जनाएको छ । कर्णाली प्रदेशमा माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको पाइएपछि अग्र्यानिक प्रदेश बनाउने पहल थालिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोगशालाका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउनका लागि जैविक विषादी प्रयोग गर्न कृषकलाई आग्रह गरिए पनि बढी उत्पादन गर्ने आशमा रासायनिक विषादीको प्रयोग बढ्दा माटोमा अम्लियपन पनि बढेको हो । साविक कर्णालीको कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रासायनिक विषादीको प्रयोगमा रोक लगाइएको छ तर पनि लुकीछिपी रासायनिक विषादीको प्रयोग र बिक्रीवितरण भइरहेको पाइएको रोकायले जानकारी दिनुभयो । जुम्ला र कालीकोटमा अध्ययन गर्दा किसानले रासायनिक विषादीको प्रयोग गरेको पाइएको उहाँको भनाइ छ ।

चालु आवमा १० वटा शिविर सञ्चालन गरेर माटोको उपचार गर्ने लक्ष्य राखिएको एकीकृत कृषि प्रयोगशाला कार्यालयले जनाएको छ । हालसम्ममा दुई वटा शिविर सम्पन्न भइसकेका छन् । प्रदेशका एक जिल्लामा एउटा माटो शिविर असार मसान्तभित्र सक्नेगरी तयारी भइरहेको वरिष्ठ अर्थविज्ञ रोकायाले बताउनुभयो । उहाँले अम्लीयपनले माटो कमजोर भएकाले बाली लगाइसकेपछि माटो परीक्षण गर्नुपर्ने जनाउनुभयो । 

माटो शिविरमा नाइट्रोजनलगायत तत्व भए नभएको जाँच्ने गरिएको छ । त्यसका लागि प्रयोगशालामा एउटा उपकरणसहित सवारीको व्यवस्था भए पनि उक्त सवारी सञ्चालन गर्ने चालकको दरबन्दी नहुँदा सबै ठाउँमा लैजान नसकिएको रोकायाले बताउनुभयो । 

प्रतिक्रिया