चैत्र शुक्ल नवमी : आज रामनवमी पर्व मनाइँदै

चैत्र शुक्ल नवमी : आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ -   चैत्र शुक्ल नवमीका अवसरमा आज देशभर रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा भगवान् श्रीरामको जन्म यसै दिन परेको धार्मिक विश्वास छ।

विष्णुको सातौँ अवतार मानिने रामचन्द्रको जन्म पुनर्वसु नक्षत्र, कर्कट लग्न र पाँच ग्रहको दुर्लभ योगमा भएको भनिन्छ। रामनवमीलाई असत्यमाथि सत्यको विजय र मर्यादित शासकीय मूल्यको प्रतीकका रूपमा लिइन्छ।

धार्मिक ग्रन्थहरू अनुसार आज रामको पूजा, व्रत, जप, ध्यान तथा रामायण वाचन गरेमा चिताएको कार्य पूरा हुने र वैकुण्ठ प्राप्त हुने विश्वास छ। जनकपुरसहित देशका विभिन्न राममन्दिरमा विशेष पूजाआजा तथा मेला लागेको छ।

प्रतिक्रिया