राउटे समुदायले बार्दैन ‘छाउ’ प्रथा

काठमाडौँ - नेपालका अधिकांश ग्रामीण तथा परम्परागत समाजमा महिनावारी (रजस्वला) भएका महिलालाई ‘अपवित्र’ ठान्ने सोच अझै पनि बलियो छ। महिनावारीका समयमा महिलालाई घरभन्दा टाढा छाउगोठमा बसाल्ने, खानपिन तथा धार्मिक कार्यबाट निषेध गर्ने चलन कर्णाली, सुदूरपश्चिम लगायतका थुप्रै ठाउँहरूमा व्याप्त छ। तर, यिनै परम्परागत धारणालाई चुनौती दिँदै आएको एउटा समुदाय हो राउटे।
दक्षिण एसियाको एकमात्र घुमन्ते जातिको रुपमा चिनिने राउटे समुदाय महिनावारीका सन्दर्भमा एकदमै फरक सामाजिक सोच राख्दछ। यहाँ महिलालाई महिनावारीका कारण समाजबाट अलग गरिँदैन, न त पूजा–आजा, खानपिन वा अन्य सामाजिक गतिविधिमा प्रतिबन्ध लगाइन्छ। महिनावारीलाई शारीरिक प्रक्रिया मात्रै मानेर व्यवहार गरिन्छ, जुन नेपाली समाजका लागि अनुकरणीय दृष्टान्त हो।
राउटे महिला गाजली शाहीका अनुसार महिनावारी कुनै अपवित्रता होइन, सामान्य प्रक्रिया हो। उहाँ भन्नुहुन्छ, 'हाम्रो समुदायमा छुइ भन्ने चलन छैन। महिनावारी भएको समयमा पनि म घरमै बस्छु, खाना पकाउँछु र परिवारसँगै खाना खान्छु। अरू समुदायले जस्तो ‘मिन्स बार्छ’ भन्ने चलन हामीकहाँ छैन।'
अन्य समुदायका महिलाहरुले महिनावारी बार्ने चलन अहिले पनि कायमै छ । कहीँ पाँच, दिन त सात दिनसम्म महिनावारी बार्ने (घरबाहिर) छाउगोठमा बस्ने चलन छ तर, राउटे समुदायमा त्यस्तो नभएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक दुर्गा खत्रीले बताउनुभयो ।
राउटे समुदायसँग लामो समयदेखि नजिक रहेर काम गरिरहेकी जोडी शिक्षिका दुर्गा भन्नुहुन्छ, ‘अन्य समुदायमा महिनावारीका बेला देता रिसाउने डरले महिलाहरूलाई छुट्टै बस्न बाध्य पारिन्छ, तर राउटे समुदायमा त्यस्तो कुनै बाध्यता देखिँन । उनीहरूलाई पारिवारिक र सामुदायिक रूपमा कुनै दबाब छैन, नत देउता रिसाउने डर नै ।’
राउटे मुखिया शूर्य नारायण शाही अन्य समुदायमा महिनावारी विभेद हुने गरेको सुनेता पनि आफ्नो समुदायमा त्यस्तो विभेद नभएको बताउँनुहुन्छ ।
अन्य समुदायले छुइबार्ने चलन सुनेको छु,’उहाँ भन्नुहुन्छ, ‘अन्य समुदायले हामीलाई पनि सोध्छ राउटेले छुइ बार्छ कि बादैन ? वा किन छुइ बार्दैन ? छुइ नबारे केही हुँदैन भन्ने जिज्ञासा राख्ने गर्छन । मैले भन्छु पहिले देखि नै हामी महिनावारी मान्दैनौँ । सामान्य रुपमा बुझ्छौँ ।’
नेपालका विभिन्न ग्रामीण समुदायमा अझै पनि पाँचदेखि सात दिनसम्म महिलाहरूलाई अलग राख्ने, खानपिनमा भेदभाव गर्ने, र धार्मिक कार्यमा सहभागी हुन नदिने चलन विद्यमान छ । तर, राउटे समुदायले भने महिनावारीलाई कुनै प्रकारको धार्मिक वा सांस्कृतिक निषेधसँग जोडेको छैन।
नेपाल सरकारले महिनावारीका समयमा गरिने भेदभावपूर्ण व्यवहारलाई हटाउने अभियान चलाए पनि अझै पनि धेरै ठाउँमा छाउपडी प्रथा कायमै छ।
राउटे समुदायले महिनावारी विभेद नगर्ने चलनले अन्य समुदायका महिलाहरुलाई समेत महिनावारीलाई अपवित्र मान्ने सोच परिवर्तन गर्न सक्ने एक उदाहरणका रुपमा लिन सकिने सोसेक नेपालका कार्यकारी निर्देशक एवं सामाजिक अभियान्ता हीरासिंह थापाले बताउनुभयो ।
थापा भन्नुहुन्छ, ‘राउटे समुदायमा अन्य समुदायभन्दा तीनवटा कुरामा ठूलो अन्तर छ। पहिलो, यहाँका महिलाहरू महिनावारी भएको समयमा बाहिर बस्नुपर्दैन। दोस्रो, बालबालिकामाथि कुनै प्रकारको हिंसा हुँदैन। तेस्रो, पारिवारिक निर्णयमा महिलाहरूको मुख्य भूमिका हुन्छ, र पुरुषहरूले ती निर्णयलाई सम्मानपूर्वक स्वीकार्छन् ।’
नेपालको अधिकांश समुदायमा पुरुषप्रधान संरचना रहेको पाइन्छ। तर, राउटे समुदायमा भने महिलाहरूले नै घरपरिवारका मुख्य निर्णयहरू लिने गर्छन, जुन अन्य समुदायको तुलनामा फरक अभ्यास रहेको थापाले बताउनुभयो ।
राउटे समुदायमा अन्य समुदायभन्दा भन्दा तीनवटा कुरा फरक छन्,’थापाले भन्नुभयो, ‘महिलाहरु महिनावारी भएको समयमा बाहिर बस्दैनन् । बालवालिकामाथि हिंसा गर्दैनन् । पारिवारमा केही निर्णय गर्न परेमा महिलाहरुले निर्णय गर्छन भने पुरुषहरु त्यसै निर्णयअनुसार अघि बढ्छन् ।’
पुरुष प्रधान देशमा राउटेहरु महिला प्रधान रहेको र अन्य समुदायको हकमा राउटेमा यस्तो फरक भएको थापाले बताउनुभयो ।
प्रतिक्रिया