बझाङमा मुङखेती परीक्षण, कृषक उत्साहित

बझाङ - केदारस्यूँ गाउँपालिका–१ झोतामा पहिलोपटक मुङ र वसन्ते मकैखेतीको परीक्षण गरिएको छ। ९५० मिटर उचाइमा गरिने यो खेतीमा ‘सिड प्लान्टर’ प्रविधिबाट बीउ रोपिएको हो।
गाउँपालिकाले ६५ रोपनी जमिन भाडामा लिएर खेती सुरु गरेको हो । माटोको उर्वरा शक्ति बढ्ने, आम्दानी र पोषणमा फाइदा हुने अपेक्षासहित यो परीक्षण गरिएको उपाध्यक्ष मनिषा धामीले बताउनुभयो।
कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उपयुक्त गहिराइमा बीउ रोपिएकाले उमेरशक्ति राम्रो हुने विश्वास गरिएको छ। जनक सिंहका अनुसार मुङमा प्रशस्त पोषक तत्वहरू पाइने र नाइट्रोजन सञ्चय गर्ने क्षमता भएका कारण यो बाली बझाङमा उपयोगी मानिएको छ।
स्थानीय विद्यालय दिवा खाजा कार्यक्रम र कृषि ज्ञान केन्द्रको सहकार्यमा परीक्षण गरिएको यो खेती सफल भएमा क्षेत्र विस्तार गरिने तयारी गरिएको छ।
प्रतिक्रिया