कर्णाली पर्यटन प्रवर्द्धन समितिको विज्ञ सदस्यमा भरतबन्धु थापा नियुक्त

काठमाडौँ – लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेश सरकारद्वारा गठन गरिएको पर्यटन प्रवर्द्धन समितिको विज्ञ सदस्यमा नियुक्त भएका हुनुभएको छ । कर्णाली प्रदेशका पर्यटकीय सम्भावनाहरूको पहिचान, प्रवर्द्धन, प्रचार प्रसार तथा व्यवस्थापनका लागि विज्ञ सदस्यमा नियुक्त गरिएको बताइएको छ ।
विगत लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील थापाको योगदान नेपाली समाज, संस्कृति र भूगोलको दस्तावेजीकरणमा उल्लेखनीय रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘तस्वीरमा नेपाल’ पुस्तक थापाको चर्चित कृति हो, जुन नेपाललाई बुझ्न चाहने पाठकका लागि ‘आँखीझ्याल’का रूपमा स्थापित छ।
थापासँगै समितिमा होटल व्यवसायीको तर्फबाट मुगुका देवीकृष्ण रोकाया, पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै सुर्खेतका भानुभक्त खड्का तथा उद्योग वाणिज्य संघका तर्फबाट पदमबहादुर शाही सदस्यमा चयन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा कर्णाली प्रदेश सरकारका प्रवक्ता बिनोद कुमार शाहले जानकारी दिनुभयो । ।
उहाँका अनुसार प्रदेश सरकारले पर्यटन क्षेत्रको दीर्घकालीन योजना निर्माण र स्थानीयस्तरको समावेशी विकासमा सहयोग पुर्याउने उद्देश्यसहित समिति गठन गरेको हो। विज्ञ सदस्यका रूपमा थापाको समावेशले कर्णालीको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया