कर्णालीमा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन

कर्णालीमा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन

कर्णाली  –   कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन गरिएको छ । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले यहाँका परम्परागत तथा धार्मिक आस्था एवं पद्धतिमा आधारित विद्यालयको अध्ययन गरेको हो । 

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित कार्यदलले यहाँ सञ्चालित गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण गरेको छ । 

कार्यदलले ती विद्यालयको सञ्चालन, व्यवस्थापनलगायतका विभिन्न पक्षमा अध्ययन, सवल पक्ष, समस्या, चुनौती र सम्भावनाका बारेमा प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिनुभयो ।

उक्त प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री भण्डारीले सरकारले आगामी वार्षिक नीति तथा कार्यक्रममा परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण तथा प्रवद्र्धन र जनशक्ति व्यवस्थापनका कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक कर्णालीमा परम्परागत विद्यालयको अवस्था अध्ययन गरिएको छ, प्रदेश सरकारले स्थानीय तहसम्म बुझाइमा एकरुपता ल्याउन तथा सहजीकरणमा विशेष सहयोग गर्नेछ ।”

कार्यदल संयोजक हमालका अनुसार चार महिनाको समय लगाएर स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रदेश सरकारलाई परम्परागत विद्यालयको अवस्थाको जानकारी गराउने उद्देश्यले अध्ययन गरिएको हो । कर्णालीमा परम्परागत विद्यालयको समस्या पहिचान भएको जनाउँदै उहाँले यसबाट कर्णालीमा नयाँका कामको दस्ताबेजीकरण भएको संयोजक हमालले बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमालले धार्मिक तथा सांस्कृतिक पहिचान जोगाइराख्न बनेका विद्यालयको विविधतालाई कायम रहने गरी तहगत रुपमा सरकारले हेर्नुपर्ने बताउनुभयो । यद्यपि यसको सञ्चालन प्रक्रिया, जनशक्ति व्यवस्थापन र शिक्षण सिकाइ क्रियाकलापलाई कसरी आधुनिक शिक्षासँग समाहित गर्दै लैजाने भन्ने कुरामा त्यतिकै चुनौती देखिएको उहाँको भनाइ थियो । 

गुरुकुल, गुम्बा र मदरसाका प्रतिनिधिले प्रदेश सरकारले ती विद्यालयहरुको व्यवस्थापन तथा सञ्चालनका लागि ऐन नै ल्याउनुपर्ने सुझाव दिएका छन् । गुरुकुल, गुम्बा र मदरसा विद्यालयको शिक्षा पद्धतिअनुसार हाल कर्णालीमा १६ वटा परम्परागत तथा धार्मिक विद्यालय सञ्चालनमा रहेको कार्यदलका सदस्य डा. दीपककुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुम्बा शिक्षा पद्धतिमा सञ्चालित विद्यालयको अवस्था सन्तोषजनक देखिए पनि गुरुकुल र मदरसा शिक्षा पद्धतिमा सञ्चालित विद्यालयको अवस्था कमजोर रहेको छ । 

प्रतिक्रिया