दैलेखमा वडाध्यक्षलाई विद्युत पोलमा बाँधेर कुटपिट, तीनजना पक्राउ

दैलेख । दुल्लु नगरपालिका–३ का वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युत पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चैते दसैंको रात चामुण्डाबिन्द्रासैनी–९ डौंसुरका चार युवाको समूहले वडाध्यक्ष कार्कीमाथि हमला गरेको हो । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो।
प्रहरीका अनुसार ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल र १९ वर्षीय विशाल खड्का पक्राउ परेका छन् भने २१ वर्षीय वीरेन्द्र खड्का फरार छन्। कार्कीले आफू अपहरण र शरीर बन्धकमा परेको उजुरी दिएका थिए ।
घटनामा संलग्न युवाहरूले भने कार्की परस्त्रीसँग देखिएको भन्दै सबक सिकाउन बाँधिएको दाबी गरेका छन्। तर, कार्कीले उक्त आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका छन्।
प्रहरीका अनुसार कानून हातमा लिएर यसरी कुटपिट गर्नु गैरकानुनी भएकाले आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइनेछ।
प्रतिक्रिया