कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान

बैतडी –  नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएको छ । नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बालीको खेती घट्दै गएको छ ।

कोदोको महत्व बिर्सेका किसान अहिले नगदेबालीतर्फ आकर्षित भएका दोगडाकेदार–३ श्रीकोटका ६८ वर्षीय नन्दराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोदोको महत्व बिर्सेका किसान अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । त्यसले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् ।”

यसैबीच जिल्लाको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्द्धन गर्न किसानलाई रु चार लाख अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्द्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । 

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई रु चार लाख बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । कोदोखेती गर्ने किसानले प्रतिरोपनी रु ७०० का दरले अनुदान पाउने जनाएको छ । 

गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।

उहाँले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको बताउनुभयो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ । 

कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ । यसका साथै कोदोमा फाइबर, प्रोटिन र खनिजजस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र ह्दय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ ।

प्रतिक्रिया