हर्क सरको 'इन्ट्री'ले बद्लिएको हिमालय मावि

दैलेख – कुनै समय यस्तो विद्यालय जहाँ बालबालिकाले धुलाम्मे भुइँमा बसेर पढ्थे, बेन्च थिएन, खेलमैदान थिएन, कक्षाकोठामा झ्यालढोका थिएनन्, शौचालय र खानेपानीको व्यवस्था समेत थिएन । शिक्षक कर्मचारीको आफ्नै बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्थे र अभिभावकको पनि विद्यालयप्रति विश्वास थिएन । न राज्यले पर्याप्त दरबन्दी दिएको थियो, न समुदायले साथ दिएको थियो । यही र यस्तै थियो दैलेखको चामुण्डा–बिन्द्रासैनी नगरपालिका - १ मा रहेको श्री हिमालय माध्यमिक विद्यालयको अवस्था ।
तर, हिजो आज त्यो विद्यालय रूपान्तरणको यात्रामा अग्रसर छ । यो परिवर्तनको केन्द्रमा हुनुहुन्छ विद्यालयका प्रधानाध्यापक हर्क बहादुर सर । चामुण्डाविन्द्रासैनी नगरपालिका - १ चापागाउँका हर्क बहादुर बिक । जुन विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी २०७८ सालमा सम्हाल्नुभयो । नेतृत्वको सोच, इच्छा चाहानाले कसरी चमत्कार गर्न सक्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ ।
तिज डाडा, चापागाउँमा हर्कबहादुर सर नामले परिचित हर्कहादुर बिक २०७८ मा प्रधानाध्यापक भएर हिमालयमा पुग्दा । विद्यालयको अवस्था माथि भनेजस्तै निकै नाजुक र दयनीय थियो । २०४४ सालमा स्थापना भएको विद्यालय लामोसमयसम्म उपेक्षित रह्यो ।
विद्यालयको न त भवन थियो, न शिक्षकको पर्याप्त दरबन्दी, न खेलमैदान, न पठनपाठनको उपयुक्त वातावरण। बालबालिका धुलोमाटोमै बसेर पढ्थे । शिक्षकहरूमाझ राष्ट्रसेवक भएर तलब मात्र खानुपर्छ भन्ने सोच थियो, अभिभावकहरूसँग पनि बालबालिकाको भविष्यप्रति चासो चिन्ता थिएन।
जब २०७८ सालमा प्रधानाध्यापक हर्कबहादुरकोे आगमनले विद्यालयको नियति मात्र बदलेन, पुरै समुदायको सोच र व्यवहारमा परिवर्तन ल्यायो । प्रधानाध्यापकको पद सम्हालेपछि हर्कबहादुर सरले सबभन्दा पहिले विद्यालयका शिक्षक तथा कर्मचारीका बालबालिका बोर्डिङ स्कूलबाट निकालेर आफ्नै विद्यालयमा भर्ना गराउनुभयो । हाम्रो विद्यालय अब अरुजस्तै होइन, आफ्नै बालबालिका पढाउन योग्य बनाउनु पर्छ भनेर लागि परेको र त्यो सफल भएको प्रधानाध्यापक हर्क बहादुर बिक बताउँनुहुन्छ ।
जब म विद्यालयमा आएँ, सबैभन्दा पहिले शिक्षक कर्मचारीका छोराछोरी यहीँ विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय सहित सुरुवात आफैबाट गरेँँ,’उहाँले भन्नुभयोे, ‘शिक्षक र कर्मचारीका बालबालिका यही विद्यालयमा पढ्नुपर्छ, हाम्रा बालबालिका अरुले पढाउँने अरुका हामीले यो हुन सक्दैन । हामीले हाम्रै विद्यालयमा पढाउँनुपर्छ भनेर निर्णय गरेपछि सबै सहमत भएर अहिले आफु पढाउने विद्यालयमा नै पढाइरहनुभएको छ ।’
सुरुवात आफैँबाट भयो । उहाँले आफ्ना दुई बालबालिका सुर्खेतको बोर्डिङबाट फिर्ता बोलाएर यही विद्यालयमा भर्ना गराउनुयो । त्यसपछि क्रमशः अरु शिक्षक र कर्मचारीले पनि यही गरे ।
शिक्षकका छोराछोरी विद्यालयमा पढ्न थालेपछि अभिभावकमा विश्वास पलायो । उनीहरूले बुझ्न थाले ‘हाम्रो विद्यालयमा पनि राम्रो सम्भव छ सबैले आ आफ्नो जिम्मेवारी पूरा गरेपछि अवस्थ राम्रो हुन्छ ।’
विद्यालयको सुधारले अभिभावक देखि यहाँको समुदाय नै निकै उत्साहित छ । प्रधानाध्यापक हर्कबहादुर सर र उहाँको टिमले गरेको कामले निकै प्रभावित छ । विद्यालय प्रशासन, अभिभावक समुदाय र विद्यार्थीको एकजुटले नमुना विद्यालयतर्फ उन्मुख रहेको छ ।
पहिले विद्यालयमा नियमित रुपमा जान नरुचाउँने सोही विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्रा रिता थामी अहिले एकदिन पनि विद्यालय नछुटाउने गरेको बताउँनहुन्छ । पहिले विद्यालय जान खासै रुची हुँदैन थियो, त्यति जान मन लाग्दैन थियो,’उहाँ भन्नुहुन्छ, ‘अहिले विद्यालयमा धेरै राम्रो हुँदै गइरहेको छ । विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप, लगायतका कुनै पनि मनोरञ्जनात्मक क्रियाकलाप हुँदैन थिए । अहिले मनोरञ्जन सहित पठनपाठन हुन्छ त्यसैले पनि होला एक दिन पनि विद्यालय छुटाउन मन लाग्दैन ।’
यस विद्यालयमा अध्यनरत विद्यार्थी मात्र नभएर अभिभावक पनि उत्तिकै उत्साहित छन् । पहिले भन्दा विद्यालयको अवस्थामा धेरै सुधार आएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्ब्र २ का खगेन्द्र कँडेलले बताउनुभयो । पहिले विद्यालयको अवस्था निकै नाजुक भइसकेको थियो,’उहाँले भन्नुभयो, हर्क सरको दृढ इच्छा योजना र अभिभावकको साथले विद्यालयले मुहार फेर्द गएको छ ।’
यसै विद्यालयमा कँडेलका चारजना छोराछोरी पास भएर अन्त विद्यालयमा गइसके भने । अहिले उहाँको एकजना छोरा कक्षा २ मा अध्यनरत छन् ।
‘पहिले भन्दा अहिले बालकालिकामा धेरै परिर्वतन र जिज्ञासु स्वभाव बढ्दै गएको कँडेलको भनाई छ । विद्यालयको अवस्था पहिलेभन्दा अहिले धेरै फरक छ । हर्क सर लगायत विद्यालय परिवारले निकै मेहनत गर्नुभएको छ,’ कँडेलले भन्नुभयो ।
को हुन् प्रधानाध्यापक हर्क ?
कक्षा ४ मा आमाको मृत्यु, घरको गरीबी, भाइबहिनीको जिम्मेवारी, र स्याउ बोक्ने मजदुरी—यी सबै कठिनाइहरूलाई पछ्याउँदै हर्कबहादुरले आफ्नो जीवनलाई शिक्षकको रूपमा उदाहरणीय बनाएका छन्। हाल हिमालय माध्यमिक विद्यालयमा कार्यरत उनको जीवन यात्रा नै संघर्ष र सफलताको प्रेरणादायी कथा हो।
हर्कबहादुर कक्षा ४ मा पढ्दा आमाको निधनले उनको बाल्यकालमा ठूलो आघात पुर्यायो । घरको आर्थिक अवस्था कमजोर थियो, तर उहाँ पछि हट्नुभएन । हिमालय आधारभूत विद्यालय (हाल माध्यमिक)बाट कक्षा ५ सम्म पढेर चामुण्डा माध्यमिक विद्यालय हाडाकोटमा एसएलसीसम्म पुग्नुभयो । ‘भाइबहिनीको हेरचाह गर्दै, घरको काम गर्दै पढाइ पढ्नुपर्ने बाध्यता थियो, उहाँले सम्झिनुभयो ।
२०७८ मा हिमालय माध्यामिक विद्यालयमा पोष्टिङ्ग भएका हर्कबहादुर सर सोही विद्यालयमा कखरा सिकेका विद्यार्थी हो । घरको आर्थिक अवस्था कम्जोर र त्यहीमाथि कक्षा ४ मा पढ्दै गर्दा उहाँकी आमाको मृत्यु भयो । जस्ले गर्दा उहाँ निकै समस्यामा समस्यामा पर्नुभयो । तर, पनि पढ्ने कुरामा उहाँ पछि हट्नुभएन । संघर्ष गर्दै काम गर्दै पढिरहनुभयो ।
कक्षा १ देखि ५ सम्म हिमालय आधारभूत विद्यालय अहिलेको हिमालय माध्यामिक विद्यालयमा पढ्नुभयोे । त्यसपछि चामुण्डा माध्यामिक विद्यालय हाडाकोटमा कक्षा ६ देखि १० सम्म अध्यन गर्नुभयो । घरको जिम्मेवारी सम्हाल्दै आफु पढ्दै भाइबहिनीलाई पढाउँदै अन्त उनले एसएलसी सालमा पास गर्नुभयो । एसएलसी पास भएपछि २०६१ सालमा चामुण्डा माध्यामिक विद्यालय हाडाकोटमा ११÷१२ पढ्दै हिमालयमा मासिक एकहजार तलबमा शिक्षण पेशा गरेको उहाँले बताउनुभयो ।
उहाँको मेहनत लगनशिलता बढ्दै गयो । विद्यालय प्रशासनले मेहनत र लगनशिलता देखेर २०६५ देखि २०६९ मा मासिक चार हजार तलब बढायो । २०७० मा शिक्षक सेवा आयोगले लिएको परिक्षामा पहिलो प्रयासमैै नाम निकाल्न सफल भएको उहाँ बताउँनुहुन्छ ।
‘२०७१ साउन ३० स्थायी नियुक्ति बुझेँ । स्थायी सेवामा प्रवेश गरेँ । जनकल्याण आधारभूत विद्यालय चामुण्डाविन्द्रासैनी ४ मा पोष्ट भए । त्यहाँ २०७१ देखि २०७४ सम्म कार्यरत रहे । २०७५÷०७६ मा चामुण्ड माध्यामिक विद्यालयमा शिक्षण पेशा गरेर २०७७ सालमा हिमालय माध्यामिक विद्यालयमा कार्यरत रहेँ, ’ उहाँले भन्नुभयो ।
घरको पारिवारिक अवस्था कम्जोर भएकोले उनी विदामा भारतको सिम्लामा स्याउ बोक्ने काम समेत गर्दै आफ्नो पढाइ खर्च जुटाउनुभयो ।
हाल ३९ वर्षीय हर्कबहादुरले आफ्नो जीवन शिक्षकतामा समर्पित गरिसक्नुभएको छ । उहाँको संघर्ष र समर्पणले हिमालय विद्यालयका सैयौं विद्यार्थीलाई प्रेरणा दिँदै आउनुभएको छ । ‘शिक्षक भनेको समाजको ऐना हो । मेरो लक्ष्य यहाँका बालबालिकालार्ई शिक्षित बनाउनु हो, उहाँले भन्नुभयो ।
अभिभावकद्वारा श्रमदान
लामो समयदेखि उपेक्षा गरिएको विद्यालयको नयाँ मुहार फेर्नु थियो । विद्यालयको भौतिक पूर्वाधार थिएन । तर, पनि प्रधानाध्यापक र सिंगो विद्यालय टिमले हिम्मत हारेन । शिक्षकहरूको योगदानबाट एउटा कोठा थपियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवनका लागि बजेट प्राप्त भयो । र त्यसपछि अभिभावकसँग समन्वय गरेर अगाडी बढ्ने योजना बन्यो ।
विद्यालयको सिंगो टिमले विद्यालय सुधारको योजना लिएर समुदायमा पुग्दा समुदायका अभिभावकले पनि साथ दिने बचन भयो । समुदायका प्रत्येक एक–एक अभिभावकले १५–२० दिन श्रमदान गरे। समुदायकै श्रमबाट भवन बन्दै समेत निर्माण भयो । बालबालिकाका लागि सिकाई सहजीकरणमा केही सहज भयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिकासँग समन्वय गरेर चार कोठे नयाँ भवन निर्माण भयो, जसमा ५० लाखको लागतमा निर्माण भएको भवनसँगै अभिभावकबाट थप ६ लाख बराबरको श्रमदान समेत प्राप्त भएको प्रधानाध्याक बिकले बताउनुभयो ।
‘कसैले कुचो दिनुभयो, कसैले डोको, कसैले नगद। आज ती अभिभावक नै विद्यालयका सच्चा निर्माणकर्ता हुन,’ प्रधानाध्यापकले भन्नुभयो ।
संस्थागत साझेदारी
प्रधानाध्यापक र सिंगो विद्यालय परिवारले यत्तिमा मात्र सन्तुष्ट भएन । साझेदार गैरसरकारी संस्थासँग पनि समन्वय गर्ने योजना बनाइयो । सोही अनुसार संस्थागत साझेदारहरूसँगको समन्वयले विद्यालयले थप उचाइ लिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग सोसेक नेपालको सहयोगमा पुरानो भवन मर्मत भयो, बालविकास कक्षाका लागि टेलिभिजन, कार्पेट, राउण्ड टेबल, फिल्टर र सिसिटिभी जडानजस्ता प्रविधिमा आधारित उपकरणको व्यवस्था भएको प्रधानाध्यापक हर्कबहादुर बिकले जानकारी दिनुभयो । ‘बालविकास कक्षाका लागि सोसेक नेपालले उपलब्ध गराएको टिभी हेर्नकै लागि भए पनि अहिले बालबालिकाको सहभागिता बढ्नुका साथै पढाइमा आकर्षण बढेको छ,’ उहाँले भन्नुभयो ।
हिमालय माध्यामिक विद्यालयसँग २४ रोपनी जग्गा छ। त्यसमध्ये केही बाहिरी भागको ७ रोपनी पनि समन्वय गरेर प्रयोगमा ल्याउने योजना रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर राना बताउँनुहुन्छ । यो वर्ष विद्यालयले पाँच सय अम्लिसो, डेढ सय टिमुर, कागती, अमिलो जस्ता आर्थिक लाभ हुने बिरुवा रोपेको रानाको भनाई छ ।
नयाँ वर्षमा हामीले एक हजार अम्लिसो बोट लगाउने लक्ष्य लिएका छौँ,’अध्यक्ष रानाले भन्नुभयो, ‘स्कुलको घेराबारकै लागि स्थानीय जातका फलफूलका बिरुवा समेत लगाउने तयारी छ ।’
अहिले विद्यालयमा चारसय भन्दा बढी विद्यार्थी छन । विद्यालयको शिक्षाको गुस्तर, बातावरण र शैक्षिक विधि देखेर विद्यालयप्रति अन्य अभिभावकको पनि आर्कषण बढ्दो छ । नजिकका विद्यालयबाट पनि विद्यार्थी ल्याएर भर्नागर्ने क्रम जारी छ । यहि चैत्र २० गतेबाट भर्नासँगै पाठ्यपुस्तक बितरण सुरु भइसकेको छ । अभिभावक मासिक रूपमा भेला हुन्छन, बाल क्लब र अन्य गतिविधिहरू सक्रिय छन । अभिभावकहरु पनि विद्यालयप्रति निकै सकारात्मक र उत्तरदायी छन् ।
अहिले विद्यालय सुधारको योजनाले सामुदायिक शिक्षा प्रति अभिभावकको भरोसा बढाएको छ।‘पहिले सित्तैमा दुई रुपैयाँ दिन नमान्ने अभिभावक अहिले पाँच हजारदेखि ४० हजार रुपैयाँसम्म सहयोग गर्न थालेको प्रधानाध्यापक बताउँछन् ।
चुनौती र सपना अझै बाँकी
विद्यालयमा अझै शिक्षक दरबन्दी अपुग छ। एक लाख रुपैयाँ मासिक निजी स्रोतबाट शिक्षकहरूको तलब भत्ता दिनुपर्ने चुनौती छ । २० लाखभन्दा बढी तलब निजी स्रोतका शिक्षकलाई दिन बाँकी छ । अझै पनि प्रशासनिक भवन छैन, शौचालय छैन, पर्याप्त भवन नभएको प्रधानाध्यापक बिकले बताउनुभयो ।
चुनौती र सपना अझै बाँकी छन्, तर, पनि विद्यालयले हिम्मत हारेको छैन,’प्रधानाध्यापक हर्कबहादुर भन्नुहुन्छ, ‘सरकारले बुझेर यि र यस्ता समस्या समधान तर्फ ध्यान दिएको भए सपना पुरा हुन्थे ।’
हिमालय माध्यामिक विद्यालयका प्रधानाध्यापक विद्यालयको काममा १२ घण्टा खट्छन् । बिहान ६ बजे देखि साँझको ६ बजेसम्म विद्यँलयमै भेटिन्छन् । विद्यालय पुग्दै गर्दा विद्यार्थीको विद्यालय पुग्ने बाटो देखि विद्यालयको कक्षाकोठा, चौर र शौचालयसम्मको रेखदेख गर्दै सफा समेत गर्ने गरेको बताउँनुहुन्छ । ‘म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै हुन्छु। कहिलेकाहीँ आफैँ कुचो लिएर विद्यालय सफा गर्छु । यो बालबालिकाका लागि शिक्षा मात्र होइन, प्रेरणा पनि हो’, उहाँले भन्नुभयो ।
हामीले अरुलाई भन्नुभन्दा पनि हरेक कुराको सुरुवात आफैबाट गर्नुपर्ने उहाँको भनाई छ । अरुलाई यस्तो गर भन्नुभन्दा पनि पहिले आफूले गरेर देखाउँनुपर्छ,’उहाँ भन्नुहुन्छ, ‘हेरेर वा आफै गर्नुपर्छ । काम सानो ठूलो नहुने रहेछ भेर मान्छेले आफै प्रेणाका रुपमा बुझेर काम गर्न सक्छ । कैयौँ पटक विद्यालयमा मैले त्यो गरेको छु । अहिले कसैलाई केही भन्नै पर्दै सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नुहुन्छ ।’
हिमालय माध्यमिक विद्यालयको यो यात्रा केवल एउटा विद्यालयको रूपान्तरण होइन । यो समुदाय, नेतृत्व र समर्पणको शक्तिशाली कथा हो। सीमित स्रोत र अपुग दरबन्दीका बाबजुद, सपनाले, सामूहिकताले र नेतृत्वले कसरी असम्भवलाई सम्भव बनायो भन्ने उदाहरण हो यो । उनीहरुले गरेको यो प्रयासले विद्यालय अब पालिकामै मात्र होइन, जिल्लामै पनि नमुना बन्ने लक्ष्यमा छ । र त्यो लक्ष्य टाढा देखिँदैन ।
प्रतिक्रिया