मान्ममा खानेपानीको चरम संकट : स्थानीय आक्रोशित, जिम्मेवार निकाय मौन

कालीकोट – कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा विगत लामो समयदेखि पिउने पानीको चरम अभाव रहँदै आएको छ । वर्षभरि नै खानेपानी नपाएर हैरानी खेपिरहेका स्थानीय बासिन्दा जिम्मेवार निकायको उदासिनताप्रति आक्रोशित छन् । नियमित आपूर्ति नहुँदा पानीको बिल भने प्रत्येक महिना तिर्न बाध्य हुनु परेको उपभोक्ताको गुनासो छ ।
जिल्लाको प्रमुख नगरपालिका खाँडा चक्र नगरपालिकाको केन्द्र मानिने मान्म बजारमा पानीको अभाव दैनिक समस्याको रूपमा उभिएको छ। होटल व्यवसायी धनबहादुर वटालाले सरकारकै आँखा अगाडि रहेको बजारमा यस्तो संकट भइरहँदा पनि समाधानमा कुनै चासो नदिइएको गुनासो गर्दै भन्नुभयो, 'सरकार यहीँ छ, हामीले हेरिरहेकै छौं, तर पानीको समस्या कहिल्यै प्राथमिकतामा परेको देखिँदैन ।'
उपभोक्ताहरूका अनुसार पानी वितरणमा एकरूपता नभएको, पहुँचवाला व्यक्तिले ट्याङ्कीबाट सिधा पाइपमार्फत घरमै पानी ल्याउने व्यवस्था मिलाएको, तर सर्वसाधारणका धारामा हप्तौंसम्म पानी नआउने अवस्था रहेको छ। स्थानीय कमल शाही भन्नुहुन्छ, 'पानी सिधै ट्याङ्कीबाट केही व्यक्तिको घरसम्म पुग्छ, हामीले त धारामा धुलो मात्र देख्ने गर्छौं ।'
मान्म बजारका अर्का स्थानीय हिक्मतजंग मल्लले खानेपानी उपभोक्ता समितिको लापरबाहीले अवस्था झन् जटिल बनाएको आरोप लगाउनुभयो । 'सदरमुकाममै यस्तो दुर्दशा ! जनप्रतिनिधिहरू मौन छन्, उपभोक्ता समितिको हिसाबकिताब छैन, कर्मचारी कहिल्यै समयमा काममा देखिँदैनन्,' मल्लले आक्रोश व्यक्त गर्नुभयो ।
पश्चिम मान्ममा लक्षित गरेर बनाइएको पानीको ट्याङ्कीमा महिनामा जम्मा दुई दिन मात्र पानी आउने गरेको स्थानीय सिर्जना शाही बताउँनुहुन्छ । त्यो पनि सशस्त्र प्रहरी बल र जिल्ला कारागारलाई मात्र पुग्ने गरी प्रयोग हुन्छ। उहाँ भन्नुहुन्छ, 'हामी महिनौंदेखि पानीको पर्खाइमा छौं, तर महिनाको १५० रुपैयाँ बिल भने नियमित तिर्नुपर्छ ।'
मान्ममा दुई दशकदेखि मेडिकल सञ्चालन गर्दै आएका दीपबहादुर शाहीले पानीको अभाव कहिल्यै हटेको देखेको नसकेको बताउँनुहुन्छ । 'विगत २० वर्षमा कहिल्यै पनि स्थायी रूपमा पानी आएको सम्झना छैन। धर्ना गर्यौं, प्रशासनमा गुनासो राख्यौं, तर सुनुवाइ हुन सकेन। अहिले त एक घण्टा टाढाबाट मोटरसाइकलमा पानी बोक्नुपर्छ,' उहाँले दुःखेसो पोख्नुभयो ।
नगरपालिका प्रमुख कमलबहादुर शाहीले भन्नुभयो खानेपानीको अभाव मुहानको समस्या भएको दाबी गर्नुभयो । 'नयाँ योजना सम्पन्न भएको भए पनि स्रोतमा नै समस्या भएकाले समाधान सहज छैन,' उहाँले बताउनुभयो ।
स्थानीय सरकारले समस्या सम्बोधन गर्न तत्परता नदेखाउँदा मान्म बजारका सर्वसाधारण दिनहुँको जीवनमा पिउने पानीका लागि संघर्षरत छन्। खानेपानीजस्तो आधारभूत आवश्यकतामा यस्तो उपेक्षा भइरहँदा नागरिक अधिकारमाथि गम्भीर प्रश्न खडा भएको छ।
प्रतिक्रिया