चिसापानी–कुइने सडक निर्माणमा अघि बढ्न बाटो खुल्यो

चिसापानी–कुइने सडक निर्माणमा अघि बढ्न बाटो खुल्यो फाइल तस्बिर

 

सुर्खेत –   सुदूरपश्चिम प्रदेश सरकारको पहलमा कैलालीस्थित चिसापानी–कुइने सडक क्षेत्रको निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । निर्माण कार्य रोकिएको प्रमुख कारणका रूपमा रहेको वन कटानका लागि आवश्यक अनुमति दिने सम्झौता सम्पन्न भएको हो ।

सङ्घीय सडक आयोजनाअन्तर्गत पर्ने सो सडक निर्माणका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच राष्ट्रिय वन क्षेत्रको उपयोग तथा रुख कटानबारे सहमति भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

सम्झौता अनुसार, लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने ८.९२ हेक्टर राष्ट्रिय वन क्षेत्र सडक निर्माणका लागि प्रयोग गर्न पाइनेछ । सो क्षेत्रमा रहेका ४७२ वटा रुख हटाउन पनि सहमति प्राप्त भइसकेको छ ।

यसअघि, चिसापानी–कुइने सडकको ७.२ किलोमिटर खण्डमा कालोपत्रेका लागि २०७९ साउन ३ गते ठेक्का सम्झौता भइसकेको भए पनि रुख कटानको आदेश नआउँदा काम सुरु हुन सकेको थिएन । समयमै निर्माण कार्य सम्पन्न नहुने सम्भावना बढेसँगै ठेक्का अवधि सकिने मिति नजिकिँदै गर्दा सरोकारवाला निकायहरूलाई सक्रिय बनाइएको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रक्रिया अगाडि बढाएका थिए। फलस्वरूप अब निर्माण कार्यलाई तिव्रता दिने बाटो खुलेको छ ।

चिसापानी–कुइने सडक कैलालीसहित आठ जिल्ला जोड्ने महत्त्वपूर्ण यातायात मार्ग हो ।  सडक निर्माण सम्पन्न भएमा पहाडी क्षेत्रका नागरिकलाई तराईसँगको आवागमनमा सहजता हुनेछ । हाल भने यात्रुहरूलाई दुर्गम बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडक निर्माणको जिम्मा लिएको दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो । अब रुख कटान अनुमति पाएसँगै निर्माण कार्य समयमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासी तथा जनप्रतिनिधिहरूले ढिलो भए पनि प्रक्रिया अघि बढेकोमा आशा व्यक्त गरेका छन्। सडक निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमका बासिन्दाको दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया