मुगुमा विद्युत् महशुल अनलाइनमार्फत भुक्तानी सेवा सुरु

मुगुमा विद्युत् महशुल अनलाइनमार्फत भुक्तानी सेवा सुरु

मुगु –   विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेसँगै जिल्लाका सेवाग्राहीले सहज र छिटो सेवा पाउन थालेका छन्। सेवा विस्तारसँगै महशुल तिर्न घण्टौं लाइनमा बस्नुपर्ने झन्झट हट्दै गएको छ।

प्राधिकरणका अनुसार वैशाख २ गतेदेखि अनलाइन सेवा औपचारिक रूपमा सुरु गरिएको हो । वितरण केन्द्रका प्रमुख साजन ऐडीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ई–सेवा, आईएमई–पे, महालक्ष्मी विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थामार्फत विद्युत् महशुल तिर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यसअघि ग्राहकहरू वितरण केन्द्रमै आएर लाइनमा बसेर महशुल तिर्न बाध्य थिए । अब भने डिजिटल सेवा मार्फत घरमै बसेर भुक्तानी गर्न सक्ने सुविधा सुरू भएपछि सेवाग्राही उत्साहित छन्।

मुगु वितरण केन्द्रअन्तर्गत हाल करिब एक हजार ग्राहक छन्। प्राधिकरणले प्रविधिमैत्री सेवा विस्तारसँगै महशुल असुली कार्यलाई पनि प्रभावकारी बनाउँदै लगेको जनाएको छ।

यसैक्रममा, लामो समयदेखि विद्युत् महशुल नतिर्ने सेवाग्राहीलाई कारबाही थालिएको छ। वितरण केन्द्रका अनुसार हालसम्म ६० दिनभित्र महशुल नतिरेका १५० जना उपभोक्ताको विद्युत् लाइन काटिएको छ।

'सेवाको प्रभावकारिता बढाउन हामीले अनलाइन सेवा सुरु गरेका हौं,' प्रमुख ऐडीले भन्नुभयो, 'अब नियमित महशुल तिर्ने प्रणाली बलियो बनाउने र लापरवाही गर्नेलाई कडाइ गरिनेछ ।'

हालसम्म जिल्लामा दश जना ग्राहकले अनलाइन सेवा प्रयोग गरी महशुल तिरिसकेका छन् । प्राधिकरणले डिजिटल माध्यमप्रति उपभोक्ताको आकर्षण बढ्ने विश्वास गर्दै, आगामी दिनमा थप सचेतना र प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यस नयाँ पहलले दुर्गम जिल्लामा पनि प्रविधिमैत्री सेवा विस्तार हुँदै गएको संकेत गरेको छ। सेवा विस्तारसँगै पारदर्शिता, पहुँच र समयको बचतजस्ता पक्षमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया