ठाटिकाँधका परम्परागत स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया

दैलेख – दैलेखको ठाटिकाँध गाउँपालिकामा परम्परागत स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र ठाटिकाँधको समन्वयमा आयोजित एकदिने कार्यक्रमले परम्परागत वैद्य, धामी, झाँक्रीहरूलाई आधुनिक आयुर्वेद र जडीबुटी सम्बन्धी जानकारी दिने उद्देश्य राखिएको थियो ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख डा. यादव प्रसाद उपाध्यायको अध्यक्षता रहेको थियो । उहाँले परम्परागत रूपमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई वैज्ञानिक दृष्टिकोणसहित औषधिको प्रयोग र जडीबुटीको प्रभावकारिता बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ठाटिकाँध गाउँपालिकाका ६ वटै वडाबाट सहभागी भएका करिब ५० जना परम्परागत स्वास्थ्यकर्मीहरूमध्ये धेरैले वर्षौंदेखि ओखतीमुलो गर्दै आए पनि औषधिको यथार्थ जानकारी अभाव भएको बताउनुभयो । सहभागीहरूले अबको दिनमा बुझेको आधारमा मात्र औषधिको प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष देविराम बढुवालले परम्परागत अभ्यासमा आधारित ज्ञानलाई आधुनिक सन्दर्भमा परिष्कृत गर्न यस्तो कार्यक्रम सहायक हुने बताउनुभयो । “आज प्राप्त ज्ञानले तपाईंहरूको कार्यलाई अझ सहज बनाउनेछ,” उहाँले भन्नुभयो ।
विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले समुदायमै पाइने हजारौँ प्रकारका जडीबुटीहरूको सही पहिचान, संकलन, भण्डारण र प्रशोधन गर्न सके देशको समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले हरेक नागरिकले जडीबुटीको ज्ञान लिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, विभिन्न वडाका वडाध्यक्षहरू तथा स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले परम्परागत ज्ञान र आधुनिक आयुर्वेदबीचको सेतु निर्माण गर्न भूमिका खेलेको सहभागिहरूको प्रतिक्रिया थियो।
प्रतिक्रिया