स्थानीय बन ऐन र कार्यविधि कार्यान्वयनबारे दुल्लुमा  अन्तक्रिया

स्थानीय बन ऐन र कार्यविधि कार्यान्वयनबारे दुल्लुमा  अन्तक्रिया

 

दैलेख –  दैलेखको दुल्लु नगरपालिका क्षेत्रमा स्थानीय बन ऐन कार्यान्वयन तथा कार्यविधि निर्माणसम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ।

सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ दैलेखको आयोजनामा आयोजित उक्त छलफलमा दुल्लु–भैरवी क्षेत्रका सामुदायिक बन उपभोक्ता समूहहरू, उपभोक्ता समितिका प्रतिनिधिहरू, तथा सम्बन्धित निकायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले बन क्षेत्रमा भोग्नुपरेका विविध समस्याहरू, ऐन र कार्यविधिको अभावका कारण देखा परेका चुनौतीहरू, तथा स्थानीय तहबाट ऐन निर्माण र कार्यान्वयनमा देखिएको सुस्ततालाई लिएर गहिरो छलफल गरेका थिए।

महासंघका जिल्ला अध्यक्ष पद्मा योगीले स्थानीय सरकारहरू बन सम्बन्धी ऐन तथा कार्यविधिको चर्चा गर्ने गरे पनि सामुदायिक बनको वास्तविक समस्याप्रति वेवास्ता भइरहेको आरोप लगाउँदै हरेक स्थानीय तहले अनिवार्य रूपमा बन ऐन, कानुन तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो।

छलफलको क्रममा दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले स्थानीय सरकार बनसँग सम्बन्धित कानुन निर्माण गर्न तयार रहेको उल्लेख गर्दै सामुदायिक बनका गतिविधिहरूमा पारदर्शिता र सहकार्य सुनिश्चित भएमा नगरपालिका पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमले सामुदायिक बन व्यवस्थापनमा देखिएको ऐन, कानुन तथा कार्यविधिको अभाव सम्बोधन गर्दै आगामी दिनमा सहकार्य र समन्वयका आधारमा समस्याहरू समाधान गर्ने दिशामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया