कार्यक्रम गर्नुभन्दा उपलब्धिमूलक काम गर्नु उपयुक्त : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समय ढल्किएपछि औपचारिक कार्यक्रम गर्नुभन्दा सोही बजेटले उपलब्धिमूलक काम गर्नु उपयुक्त हुने बताउनुभएको छ ।
आइतबार वीरेन्द्रनगरमा सुरु भएको दुई दिने मोबाइल पत्रकारिता (मोजो) तालिमको उद्घाटन गर्दै उहाँले कर्णालीजस्तो विकट र सूचना पहुँच कमजोर भूगोलमा मोबाइल पत्रकारिता प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयो ।
“पूर्वाधारको विकास नभए पनि प्रविधिले हाम्रा हातमा मोबाइल दिएको छ, त्यसलाई उपयोग गरेर हामी समाज परिवर्तनमा भूमिका खेल्न सक्छौं,” उहाँले भन्नुभयो, “मोबाइल पत्रकारिताबाट स्थानीय सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न सकिने भएकाले यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्छ।”
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालित तालिममा १० वटै जिल्लाबाट ४५ पत्रकार सहभागी छन्।
महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले मोबाइल पत्रकारिता अहिलेको आवश्यकता भएको बताउँदै तालिमले नयाँ मिडियाको अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । सहभागीहरूले कर्णालीको चुनौतीपूर्ण भूगोलमा मोबाइल पत्रकारिता सूचना सम्प्रेषणको सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया