दैलेखमा स्व. डम्बर बहादुर खड्का स्मृति कराते प्रतियोगिता सम्पन्न

उत्कृष्ट तीन खेलाडी सम्मानित

दैलेखमा स्व. डम्बर बहादुर खड्का स्मृति कराते प्रतियोगिता सम्पन्न

दैलेख –    दैलेखको गढि डोजोद्वारा आयोजित स्व. डम्बर बहादुर खड्का स्मृति दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई विशेष सम्मान गरिएको छ।

हरेक तौल समूहका खेल र काता विधामा प्रदर्शन मूल्यांकन गरी उत्कृष्ट तीन खेलाडीलाई ट्रफी प्रदान गरिएको हो । प्रतियोगितामा वेस्ट प्लेयर (गर्ल्स) ट्रफी श्रृजना विष्ट, वेस्ट प्लेयर (ब्वाइज) ट्रफी राजेन्द्र बोगटी, र वेस्ट फाइटर ट्रफी कृतिका कटुवालले प्राप्त गर्नुभयो ।

प्रतियोगितामा महिला र पुरुष गरी ४२ केजी, ४५ केजी, ५० केजी, ५५ केजी, र ६० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । कुल २५ जना खेलाडी सहभागी भएका थिए । सहभागी सबैलाई प्रमाणपत्र, मेडल, र ट्रफी प्रदान गरिएको गढि डोजोकी प्रशिक्षक तथा आयोजक हेमा खड्काले जानकारी दिनुभयो ।

स्व. डम्बर बहादुर खड्काको सम्झनामा आयोजना गरिने यो प्रतियोगितालाई आगामी दिनमा जिल्ला हुँदै राष्ट्रिय स्तरमा लैजाने लक्ष्य रहेको खड्काले बताउनुभयो । “सबैले साथ दिए जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “पालिकाले नै खेल गतिविधिमा चासो नदेखाउँदा खेलाडी हतोत्साहित भएका छन्। प्रशिक्षकको अभाव र पटक–पटक स्थगित हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले समेत खेलाडीमा निराशा छाएको छ।”

हेमा खड्काका अनुसार यो प्रतियोगिताले स्थानीय खेलाडीलाई हौसला र उर्जा दिएको छ । तीन वर्षअघि निधन भएका स्व. डम्बर बहादुर खड्का निडर, खेलप्रेमी, सफल व्यवसायी तथा सामाजिक अभियन्ता समेत हुनुहुन्थ्यो । उहाँकी छोरी हेमा खड्का बाबुको सपना साकार पार्न प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धतासहित अगाडि बढिरहनुभएको छ  ।


 

प्रतिक्रिया