नौमुले गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

सुशासन र पारदर्शितामा जोड

नौमुले गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

नौमुले –  दैलेखको नौमुले गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार विकास निर्माण, सेवा प्रवाह, जनचासो र पारदर्शितालाई समेट्दै गाउँपालिकाले नियमित रूपमा आयोजना गर्ने सार्वजनिक सुनुवाइ अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा गाउँपालिकाले पछिल्लो चार महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा अन्य कार्यहरूको विवरण सार्वजनिक गरेको थियो  । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दमन दाहालले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  ।

गाउँपालिका अध्यक्ष छविराम सुवेदी मुख्य जवाफदेही वक्ताका रूपमा प्रस्तुत हुँदा उपाध्यक्ष गंगबहादुर शाही, वडाध्यक्षहरू, शाखा प्रमुखहरू र अन्य सरोकारवाला अधिकारीहरू पनि जवाफदेहीका रूपमा सहभागी रहनुभएको थियो ।

स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि तथा प्रशासनिक सेवा लगायतका विषयमा प्रश्न, सुझाव र जिज्ञासा राखेका थिए  । अधिकांश प्रश्नहरूको समाधान गाउँपालिका अध्यक्ष सुवेदीले जबाफ दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष छविराम सुवेदीले भन्नुभयो, “हामीले जनप्रतिनिधिको हैसियतमा जनताको चाहना र आवश्यकता बुझ्ने र त्यसअनुसार काम गर्ने प्रयास गरेका छौं। सार्वजनिक सुनुवाइले हामीलाई अझ उत्तरदायी बनाउँछ । नौमुलेलाई समावेशी, उत्तरदायी र पारदर्शी स्थानीय सरकारका रूपमा स्थापित गर्न यस्ता सुनुवाइ कार्यक्रमहरू निरन्तर गरिनेछ ।”

कार्यक्रमले जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवाद स्थापना गर्दै उत्तरदायित्व बोध र जनउत्तरदायी शासनको अभ्यासमा सकारात्मक संकेत प्रवाह गरेको छ । स्थानीयले सार्वजनिक सुनुवाइप्रति चासो देखाउँदै यस्ता कार्यक्रमले स्थानीय सरकारप्रति विश्वास बढाउने जनाएका छन्।

प्रतिक्रिया