दैलेखमा आठौं जिल्ला सभा तथा 'समृद्ध दैलेख गुरुयोजना' सार्वजनिक

दैलेख - “दैलेखको गौरव, दैलेखको सान - सम्पूर्ण जिल्लावासीको मुहारमा मुस्कान” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा आठौं जिल्ला सभा तथा 'समृद्ध दैलेख गुरुयोजना' पुस्तकको विमोचन गरिएको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै सभा उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहले जिल्लाको समृद्धि, सुशासन र दिगो विकासका लागि सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलका नेतृत्वको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
“विकास सडकमा धुलो उडाउनु मात्र होइन, मानव सम्पदा र कृषि क्षेत्रमा लगानी गर्न सके मात्र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न सक्छ,” मन्त्री शाहले भन्नुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र योजनाहरूको प्रभावकारिता त्यसको कार्यान्वयनमा निर्भर हुने भन्दै प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस्तै कर्णाली प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णकुमार बी.सीले जिल्लास्तरीय समन्वय र सहकार्यमार्फत योजनाहरूको कार्यान्वयनमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै, दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले जिल्लाको समग्र विकासका लागि सबै तहका जनप्रतिनिधिहरूबीच साझा प्रतिबद्धता र समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग र सक्रियता जनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
जिल्ला सभामा स्थानीय तहका प्रमुख, उप–प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालय प्रमुखहरू, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र संघसंस्थाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले जिल्लास्तरमै समृद्धिका लागि साझा प्रयास आवश्यक रहेको बताउँदै, “जनताबाट निर्वाचित जनप्रतिनिधि जो-कोही पनि यस्ता महत्वपूर्ण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुनुपर्छ,” भन्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले अघिल्लो आर्थिक वर्षको कामको समिक्षा गर्दै आगामी योजना निर्माणमा छलफल गर्ने अवसरका रूपमा जिल्ला सभा रहेको उल्लेख गर्नुभयो। तर, केही पालिकाका प्रमुख तथा उप–प्रमुखहरूको अनुपस्थिति प्रति असन्तुष्टि जनाउँदै उहाँले, “महत्वपूर्ण कार्यक्रममा सरोकारवालाहरूको सहभागिता नहुनु दुःखद हो,” भन्नुभयो ।
गणपुरक संख्या नपुगेकाले जिल्ला सभाको बन्द सत्र शनिबार बिहान ८ बजे पुनः बस्ने जानकारी पनि उहाँले दिनुभयो ।
प्रतिक्रिया