राजस्व सुधार योजना निर्माणसम्बन्धी दुल्लुमा अभिमुखिकरण

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा राजस्व सुधार योजना निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सोसेक नेपालको आर्थिक सहयोग दुल्लु नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित हातेमालो परियोजनाको सहजीकरणमा दुल्लु नगरपालिकामा एकदिने राजस्व सुधार योजना निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
दुल्लु नगर क्षेत्रभित्र आन्तरिक आम्दानी अभिवृद्धि गर्दै स्थानीय सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको उद्देश्य रहेको सोसेक नेपाल दैलेखका वरिष्ठ सहजकर्ता मान बहादुर थापाले बताउनुभयो । करको दरमा मात्र वृद्धि गर्नुको सट्टा करको दायरा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै, नगरभित्रका सबै उद्योगी, व्यवसायी तथा करदाताहरूलाई करको दायरामा ल्याउन नगरपालिकाको पहल जारी रहने दुल्लु नगरपालिकाका मेयर भरत प्रसाद रिजालले बताउनुभयो ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक वि.क.ले कर सम्बन्धमा व्यवसायीहरू अझै पनि अनविज्ञ रहेको भन्दै त्यस्तो अवस्था अन्त्य गर्नका लागि अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर संकलनमा सुधार ल्याउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै वडा नं. - ६ का अध्यक्ष हस्त बहादुर खड्काले “राजस्वमा दर होइन, दायरा बढाऔं” भन्ने नारा अघि सार्दै बजार अनुगमनलाई नियमितरूपमा प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
उद्योग वाणिज्य संघ दुल्लुका अध्यक्ष लक्ष्मी प्रसाद आचार्यले करको दायरा विस्तारका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको भन्दै वन, शिक्षा तथा वित्तीय संस्थाहरूलाई समेत राजस्व प्रणालीमा समेट्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीय व्यवसायी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको सोसेक नेपाल दैलेखका वरिष्ठ सहजकर्ता मान बहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया