आमाको मुख हेर्ने पर्व आज, श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । आज देशभर श्रद्धा र भक्तिसहित आमाको मुख हेर्ने पर्व मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन मनाइने यो पर्वमा आमा प्रतिको श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गरिन्छ।
शास्त्रीय परम्पराअनुसार, आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि उच्च स्थान दिइएको छ। यस दिन सन्तानले आमाबाट आशीर्वाद प्राप्त गर्दै उनको सेवा–सम्मान गर्ने चलन छ।
आज बिहानै उठेर नुहाई सन्तानले आफ्नी आमालाई राम्रा लुगा लगाइदिने, मीठा र पौष्टिक खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन छ। आमाविहीनले भने दिवङ्गत आमालाई सम्झेर तर्पण, पिण्डदान र पुरोहितलाई सिदादान गरी भोजन गराउने चलन छ। यस अवसरमा आमाले गरेका महान् र कठिन कार्यहरूको सम्झना गरिन्छ।
वैदिक शास्त्रमा प्रत्येक मानवले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति अनुसार, जन्म दिने आमा र जन्मभूमिको सम्मान स्वर्गभन्दा पनि उच्च मानिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईले बताएका छन्।
आमा नौ महिनासम्म गर्भमा सन्तानलाई धारण गरी जीवन दिने भएकाले उनको महत्व अत्यधिक रहेको भट्टराई बताउँछन्। शास्त्रमा आमाको स्थान बाबुभन्दा हजारौं गुणा उच्च भएको उल्लेख गरिएको छ। त्यसैले जीवित आमालाई राम्रो खानपिन र वस्त्र दिएर सम्मान गर्दै खुसी बनाइन्छ।
दिवङ्गत आमाका लागि श्रद्धापूर्वक तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा छ। वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको आत्माले आशीर्वाद दिने विश्वासका साथ, तर्पण र श्राद्ध गर्ने शास्त्रीय मान्यता रहेको भट्टराईले जानकारी दिए।
प्रतिक्रिया