सरकारले चाँडो भन्दा चाँडो शिक्षकहरूसँग बार्ता गरोस् : सांसद थापा

काठमाडौँ – प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले शिक्षक आन्दोलनको समाधानका लागि सरकारले चाँडोभन्दा चाँडो वार्ताको पहल गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले शिक्षक आन्दोलन २६ दिनदेखि जारी रहँदा पनि सरकार वार्तामा नबसेको अवस्थाले शिक्षा क्षेत्र गम्भीर संकटमा परेको बताउनुभयो । विद्यार्थीहरूको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उहाँले एसईई र कक्षा १२ को परीक्षा समेत अन्यौलमा परेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
'सरकारले समय निकालेर शिक्षकहरूसँग वार्ता गर्न सक्नुपर्छ,' सांसद थापाले भन्नुभयो, 'सम्झौता गरेर कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिले शिक्षकहरूमा गहिरो अविश्वास पैदा भएको छ। अब सरकारले कसरी विश्वास दिलाएर अगाडि बढ्छ भन्ने ठूलो प्रश्न बनेको छ ।'
थापाले शिक्षक र सरकारबीचको अविश्वासका कारण शिक्षा समितिको कामकाजमा समेत असर परेको बताउँदै सरकारलाई वार्ता र कार्यान्वयन दुवैमा गम्भीरता देखाउन आग्रह गर्नुभयो ।
उहाँले शिक्षकहरूलाई पनि आन्दोलनका बीचमा आफ्नो पेशागत दायित्वप्रति संवेदनशील हुन र विद्यार्थीहरूको भविष्यप्रति विचार गर्न अपिल गर्नुभयो । 'सरकारले जिम्मेवारी वहन गर्नुपर्छ, तर शिक्षकहरूले पनि आफ्नो दायित्व सम्झनुपर्छ,' उहाँले भन्नुभयो ।
प्रतिक्रिया