जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्ला –  यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, “वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो ।  यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय तहका गाउँभन्दा अगाडि रहेको छ ।” वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने छ । वडाभर अहिले पाँच सय चार मौरीघार रहेको वडाध्यक्ष भण्डारीको भनाइ छ । 

कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईँले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिमका सहभागीलाई सिकाएको जानकारी दिनुभयो । आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अतिआवश्यक रहेको कनकासुन्दरी गाउँपालिका–१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ । यहाँका आठवटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन्  । कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा आठ हजार बढी मौरीघार छन् ।

 जिल्लामा मह उत्पादनको तथ्याङ्क राख्न सकिएको छैन । अब आउने आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्याङ्क सङ्कलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन् । दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले एक सय ५० मौरी घार छन्  ।  

पछिल्ला वर्षहरूमा रोग, कीरा र जङ्गली जनावरबाट मौरी बचाउन नसकेको बताउनुभयो । जिल्लामा हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन् । पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछि मौरीका घार घट्दै गएका छन् । 

कम लगानीमा बढी आम्दानी लिन सकिने भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजङ्गल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको मौरीपालन किसान बुढ्थापाको भनाइ छ ।

प्रतिक्रिया