चामुण्डाबिन्द्रासैनीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दैलेख – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाहका बारेमा जनचासो र पारदर्शिता सुनिश्चित गर्नको लागि आयोजना गरेको हो । चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको नियमित प्रक्रिया अन्तर्गत आयोजना गरिएको हो, जसमा सुशासन र जनसहभागिता प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख गणेश कुमार शाही प्रमुख जवाफदेही वक्ताको रूपमा प्रस्तुत हुनुहुन्थ्यो । कार्यक्रमको अवसरमा उपप्रमुख मनसरा कुमारी शर्मा, विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू साथै नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू पनि उपस्थित थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाका विकास र सेवा प्रवाहका विभिन्न पहलहरूबारे जानकारी दिनु भएको थियो।
कार्यक्रममा नगरप्रमुख शाहीले सेवाग्राहीहरूको प्रश्नहरूको जवाफ दिने क्रममा नगरपालिकाले सदैव जनताको हितको लागि काम गर्दै आएको भन्दै, नागरिकहरूले पनि जिम्मेवारी वहन गर्नुपर्ने महत्त्वपूर्ण कुरा जोड दिनुभयो ।
यस अवसरमा, स्थानीय सेवाग्राहीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण र सडक निर्माणका बारेमा प्रश्न उठाउँदै सल्लाह र सुझाव पनि दिएका थिए । उक्त कार्यक्रमले नगरपालिकामा विकास र सेवाप्रवाहका विषयमा जनचासो र सकारात्मक संवादको अवसर प्रदान गरेको छ ।
प्रतिक्रिया