सुत्केरी रामसराको मुग्लानमै मृत्यु,चार छोरीको विचल्ली

दैलेख । गाउँमा रोजगारी नहुँदा पाँच बर्ष अघि आठविस नगरपालिका–१, सुकिपिप्ली बस्तीका हरिस नेपालीले तीन छोरी र श्रीमति लिएर जीवनकोपार्जनको लागि मुग्लान हानिए । मजदुरीका लागि मुग्लान लागेका नेपाली परिवार भारतको उत्तराखण्ड रिठासैन पालपुर काम पाए । तीन छोरीलाई वस्ने कोठामा छोडेर नेपाली दम्पति मजदुरी काम गर्न थाले । मुग्लान लागेको केही महिनापछि रामसरा गर्भवती भईन । रामसरा गर्भवती भएपछि आरामका तीन छोरीको हेरचाह गर्दै कोठामा बस्न थालिन ।
गर्भवती भएपछि रामसराका श्रीमान हरिस मात्र मजदुरी गर्न जान थाले । श्रीमानले मजदुरी गरेर कमाएको रकम नेपाली परिवारको जीविकोपार्जन गर्न थाले । रामसराको पेटमा बच्चा हुर्कदै गयो । ९ महिनामा चौथो सन्तानको रुपमा छोरी जन्माइन । छोरी जन्मिदा हरिस जसरी हौसिएका थिए । हरिस क्षणभरमा निराश बन्नु प¥यो । छोरी जन्माएको दुई घण्टामै हरिसले जीवन सँगिनी गुमाउनु प¥यो ।
हरिस भन्छन, बच्चा बस्ने कोठामा जन्मियो । बच्चा जमिँदा उनको अवस्था ठिक थियो । बच्चा जन्मिएको एकघण्टापछि पेट दुख्यो भनिन,अस्पताल लैजानको लागि एम्बुलेन्स बोलाए । उपचार लिने क्रममा अस्पताल नपुग्दै अत्याधिक रक्तश्रावले उनको मृत्यु भयो । यस्तो भनिरहँदा हरिसका आँखाबाट आँशु छचल्किएका थिए । शवलाई उतराखण्डमा दाहसंस्कार गरि काजकिरिया गर्न हरिस शिशु चार छोरी बोकेर थालथलो सुकिपिप्लीमा आए । दाई भाई आफन्तले पैसाको जोहो गरेर काजकिरिया गरे । खानाको जोहो लागि दाजु भाईले एक दुई सय रुपैयाँ दिएर चलाउने गरेका छन् । हरिसको घरमा खानाको पनि उस्तै समस्या छ । १३ दिनकै छोरीको पालनपोषणको लागि हरिसले गाई दुध खुवाउने गरेको बताए । यहाँ अरु केही पाईदैन ।आफन्तकै घरमा गाईको दुध ल्याएर खुवाउने गरेको छु,उनले भने ।
‘श्रीमतीको मृत्युले पिडामा रहेका हरिसलाई सान्त्वना दिन घर पुग्नेहरु चार छोरीहरुको विचल्ली देखेर जोकोहीका आँखा रसाउँछन् । हरिसका भाइ (फुपूका छोरा) टेकेन्द्र परियार भन्छन्, ‘एकातिर १३ दिनको छोरी रोएर घरको माहोल स्तव्ध बनेको छ । अर्कोतिर हुर्किएका तीन छोरी आमा भएको ठाउँ जाउ भनिरहँदा सबैको आँखा रसाउँछन् ।’
मृतक रामसराका जेठी छोरी पूजा साढे चार वर्ष, माईली निशा तीन वर्ष र साईली चन्द्रकला साढे एक वर्षकी छन् । १३ दिनकी चौथी छोरीलाई कसरी पालन पोषण गर्ने भन्ने पिरलो दाजु (हरिस) लाई रहेको टेकेन्द्र बताउँछन् । चार दशकदेखी जंगल फडानी गरेर बसोबास गरेका दलित बस्तीले अहिले सम्म लालपुर्जा पाएका छैन । खानेपानी,स्वास्थ्य संस्था,सिचाईको समस्या भोग्दै आएका दलित बस्तीमा बर्षातमा खेतीपाती लगाउने गरेपनि हिउँदमा सिचाई अभावले जमिन बाँझो रहन्छ भने ४५ घर दलितले मजदुरी गरेर जहानपरिवार पाल्ने गरेको विरबहादुर नेपालीले बताए ।
‘एलानी जग्गामा बस्नलाई घर छ, छोरी हुर्काउने सामथ्र्य छैन। ‘हुर्किएकी छोरी पढाई लेखाई दिने े कुनै सहयोगी संस्थाले साथ दिएको भए उनको भविष्य बन्थ्यो की भनेर हरिस यतिवेला आशमै दिई विताईरहेका छन् ।
प्रतिक्रिया