कर्णालीका १३ लाख ३५ हजार नागरिकलाई स्वास्थ्य सेवा

कर्णालीका १३ लाख ३५ हजार नागरिकलाई स्वास्थ्य सेवा

  सुर्खेत । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभरका १३ लाख नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । २०८१ बैशाखदेखि चैत मसान्तसम्म कर्णालीका १० वटा जिल्लाका १३ लाख ३५ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १० जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको दावी गरेको छ ।

प्रदेश सरकार स्थापना भएदेखि कर्णालीको स्वास्थ्य, शिक्षा तथा मानव विकास हेर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई छ । मन्त्रालयले यस अवधिमा स्वास्थ्य सेवा कार्यालय डोल्पा अस्पतालको भवन निर्माण सम्पन्न गराई नयाँ भवनबाट सेवा प्रारम्भ गराएको छ । त्यस्तै, डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका तथा जुम्ला जिल्लाको हिमा गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ स्वास्थ सेवा प्रवाह तथा औषधी वितरणसमेत गरिएको छ ।

स्थानीय तहमा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रदेश÷जिल्ला अस्पतालमा कामकाजको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा मेडिकल अधिकृतहरुलाई कामकाजमा खटाउने संयत्रको विकास गरिएको मन्त्रालयको दावी छ । त्यस्तै, गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेशिनरी तथा औजार खरिदका लागि एक करोड बजेट खर्च गर्ने गरी अख्तियारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश अस्पताल स्तरोन्नती सम्बन्धमा अध्ययन गर्न बनेको उच्च स्तरीय अध्ययन समितिले प्रतिवेदन पेश गरेको छ ।

डाक्टर भगवान कोइरालाको संयोजकत्वमा गठित कार्यदलबाट प्रदेश सरकारलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्न विभिन्न पाँच विकल्पसहित सुझाव प्राप्त भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । प्रदेशका १० देखि १४ बर्ष उमेर समूहका ९९ हजार पाँच सय नौ किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप प्रदान गरिएको मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यप्रगतिमा उल्लेख छ ।
कार्यान्वयनमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम
प्रदेश सरकारले अघि सारेको महत्वाकांक्षी योजना मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम कार्यान्वयनमा गएको छ । शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत १३ विद्यालय छनौंट भई सम्बन्धित स्थानीय तहमार्फत कार्य प्रारम्भ भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, विद्यालय पूर्वाधार विस्तार तथा सुधार कार्यक्रम अन्तर्गतको रकम विद्यालयहरु छनांैट गरी सम्बन्धित जिल्लामार्फत निर्माण कार्य प्रारम्भ भएको मन्त्रालले जनाएको छ । गत वर्ष साक्षर कर्णाली योजना अन्तर्गत मुगु र जुम्ला जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएका छन् ।

यस अवधिमा मन्त्रालयले तयार पारेको १० वर्षे शिक्षा योजनाको स्वीकृतिको प्रक्रियामा छ । प्रदेश सरकारले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गरी अघि सारेको गौरवको आयोजना प्रदेश रंगशाला निर्माण सम्पन्न भएको छ । खेलकुदको सर्वोच्च प्रतियोगिता १० औं राष्ट्रिय खेलकुद सञ्चालनको जिम्मेवारी पाएसँगै प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण थालेको रंगशालाको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेको छ ।

त्यस्तै, १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गरी हुम्लामा हक्की खेल मैदान निर्माण सम्पन्न भएको छ । यस अवधिमा मन्त्रालयले कानून निर्माणमा उल्लेख्य प्रगति भएको जनाएको छ । जसमा सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि, अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम कार्यविधि, प्रदेश अपाङ्गता अधिकार समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।बाल विवाह अन्त्यका लागि प्रादेशिक रणनीति मस्यौदा तयार भएको छ । दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ भने कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा विधेयकको मस्यौदा तयार भइ स्वीकृतिको चरणमा छ । गत वर्ष मन्त्रालले कर्णालीका परमपरागत विद्यालयको खोजी गरेको छ ।

मन्त्रालयद्वारा गठिन परम्परागत विद्यालयको अवस्था अध्ययन कार्यदलले कर्णालीका १० वटै जिल्लामा सञ्चालित धार्मिक विद्यालयको अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अनुसार कर्णालीमा सञ्चालित परम्परागत विद्यालयहरु सञ्चालन तथा व्यवस्थापनका हिसावले निकै संकटमा रहेको देखाएको छ ।
आठ महिला उद्यमी पुरस्कृत
गत वर्ष प्रदेश सरकारले कर्णालीका आठ उत्कृष्ट महिला उद्यमीलाई पुरुस्कृत गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका आठ वटा जिल्लाका स्वरोजगारमुलक व्यवसायमा संलग्न रही उत्कृष्ट उद्यमी बन्न सफल महिलालाई नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरेको हो ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका सुरु गरिएको ‘एक जिल्ला, एक महिला उद्यमी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई पुरस्कृत गरिएको हो । कर्णालीका १० जिल्लामध्ये जाजरकोट र रुकुमपश्चिम बाहेक अन्य आठ जिल्लाका महिला उद्यमीले नगद पुरस्कार पाएका हुन् ।

प्रदेश सरकारबाट पुरस्कृत हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका–५ की सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालक नारायणी चौलागाईं, हुम्लाको सिमकोट गाउँपालिका–५ का लक्ष्मी सिलाई कटाई उद्योगका सञ्चालक लछु भण्डारी, डोल्पाको जगदुल्ला गाउँपालिका–३ का करुणा घरेलु तथा अल्लो उद्योगका सञ्चालक ललिता थापा छन् ।

त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–५ का शाही पोल्ट्री फार्मका सञ्चालक सीता शाही, सल्यानको दिदीबहिनी बाख्रा फार्मका सञ्चालक गीता कुमारी पुनमगर, दैलेखको नारायण नगरपालिका–६ का विन्दु सिलाई कटाई उद्यमका सञ्चालक विन्दु कुमारी उपाध्याय, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ को देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रालिका सञ्चालक सुजाता र मुगुको छायाँनाथ रारा नगरपालिका–२ का सविना टेलर्सका सञ्चालक सविना रोकायालाई प्रदेश सरकारले जनही एक लाख रुपैयाँद्वारा पुरस्कृत भएका छन् । ओम शाही,युग आब्हान 

प्रतिक्रिया