कर्णालीमा विद्यार्थीको भाषा र गणित सिप कमजोर भएकोमा चिन्ता व्यक्त

कर्णालीमा विद्यार्थीको भाषा र गणित सिप कमजोर भएकोमा चिन्ता व्यक्त

सुर्खेत –   कर्णाली प्रदेशका आधारभूत तहका विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक र गणितीय सीप निकै कमजोर देखिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न ‘आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी सम्मेलन’मा यस्तो अवस्था सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारसहित सम्पूर्ण सरोकारवाला निकायहरूलाई जवाफदेही बन्नुपर्नेमा जोड दिइएको छ।

सम्मेलनमा प्रस्तुत गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नेसनल एसेस्मेन्ट फर रिडिङ एण्ड न्युमेरेसी (नार्रन) २०२० अनुसार, कक्षा ३ का १०.२ प्रतिशत बालबालिकाले एकल शब्द पनि पढ्न सक्दैनन् भने औसत पठन उपलब्धि ४३.५३ प्रतिशत मात्र छ। गणितमा त झनै कमजोर स्थिति देखिएको छ, जहाँ औसत सिकाइ उपलब्धि ३७.२२ प्रतिशत मात्र रहेको र ८.४१ प्रतिशत विद्यार्थीले मात्र तहअनुसारको सक्षमता हासिल गर्न सकेका छन्।

त्यस्तै, नासा रिपोर्ट २०२० अनुसार कक्षा ८ का विद्यार्थीमध्ये ३२.१ प्रतिशत मात्र गणितमा, ३७.७ प्रतिशत विज्ञानमा, ५८.८ प्रतिशत नेपालीमा र ५१.५ प्रतिशत अंग्रेजीमा उत्तीर्ण छन्, जसले उनीहरू आधारभूत सक्षमताको तहमा मात्र पुगेका संकेत गर्छ। बाँकी विद्यार्थी भने अझै आधारभूत तहभन्दा कमजोर छन्।

सो तथ्यांक प्रस्तुतिपछि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा विद्यार्थीलाई टिकाइराख्नु चुनौतीपूर्ण भएको र टिकेका विद्यार्थीको सिकाइ वृद्धि अझै ठूलो चुनौती रहेको बताउनुभयो । उहाँले सिकाइ सुधारका लागि सञ्चालित तालिमका कार्यक्रमहरूमा शिक्षकको नियमित सहभागिता नहुनु विडम्बनाको विषय भएको उल्लेख गर्नुभयो । साथै, गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने परियोजना परियोजना सकिएसँगै बन्द नहोस् भन्नेमा जोड दिनुभयो  ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले संघ सरकारले स्रोत व्यवस्था गरे पनि स्पष्ट र समन्वित रिपोर्टिङ प्रणालीको अभाव रहेको औँल्याउनुभयो । उहाँले तीनवटै तहका सरकारबीच समन्वययुक्त रिपोर्टिङ संयन्त्र बने विद्यार्थीको सिकाइ सुधारका प्रयास प्रभावकारी बन्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जहारलाल हमालले सिकाइ परियोजनाहरू सीमित क्षेत्र र एक्लो प्रयासमा सीमित हुँदा समग्र प्रदेशमा प्रभावकारी नतिजा आउन नसकेको तर्क गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति महासंघ, कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले भाषा शिक्षामा बढ्दो अंग्रेजी मोहले बालबालिकालाई गणितका आधारभूत कुरा समेत नेपालीमा भन्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सतासी, अठ्ठासी र उनासीमध्ये कुन ठूलो भन्ने प्रश्नमा पनि उत्तर दिन नसक्ने अवस्थालाई चिन्ताजनक भन्नुभयो । 

सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका अधिकृत नवीन खड्का र शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्राविधिक अधिकृत नरेन्द्रबहादुर बोगटीले सिकाइ अवस्था र व्यवस्थाप्रति तथ्यांकसहितको प्रस्तुति निुभएको थियो । साथै, आधारभूत सिप सुधारका लागि बहस कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसमा विभिन्न पालिका र संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा स्ट्रिट चाइल्ड अफ नेपाल, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल नेपालले शिक्षासम्बन्धी आ–आफ्ना परियोजनाहरूको अभ्यासबारे प्रस्तुति दिए। स्ट्रिट चाइल्ड अफ नेपालले ‘टिचिङ एट राइट लेभल , सेभ द चिल्ड्रेनले ‘गृह विद्यालय’ र प्लान इन्टरनेसनल नेपालले ‘अभिभावक शिक्षा तथा घरघरमा पढाइ कुना’ कार्यक्रमबारे जानकारी गराउनुभएको थियो   ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले भाषा र गणित शिक्षालाई जीवनोपयोगी बनाउँदै आधारभूत तहमा सबै विद्यार्थीको सिप वृद्धि सुनिश्चित गर्न साझा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई स्ट्रिट चाइल्ड अफ नेपाल, आसमान नेपाल र हेम्पेल फाउण्डेसनले प्राविधिक सहयोग गरेका थिए भने सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल नेपाल सहआयोजक थिए ।

प्रतिक्रिया