हुम्ला जिल्ला अस्पतालमा पाँच दिनदेखि ओपीडी सेवा बन्द
बिरामी उपचारविहीन

हुम्ला – हुम्लाको एकमात्र जिल्ला अस्पताल सिमकोटमा बहिरङ्ग सेवा (ओपीडी) पाँच दिनदेखि बन्द हुँदा सर्वसाधारण बिरामी गम्भीर समस्यामा परेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा सुरु भएको चिकित्सक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालका चिकित्सकहरूले गत शुक्रबारदेखि ओपीडी सेवा पूर्णरूपमा बन्द गरेका हुन्। यसका कारण दैनिक ४० देखि ५० जनासम्म उपचारका लागि आउने बिरामीहरू सेवाबाट वञ्चित भई उपचार नगरी फर्किन बाध्य भएका छन्।
विशेषगरी सदरमुकाम सिमकोटसहित नजिकका गाउँहरूबाट स्वास्थ्य उपचारका लागि आएका बिरामीहरू सेवा नपाउँदा निजी क्लिनिकतिर धाउनुपर्ने अवस्था आएको छ । मंगलबार बिहान मात्र ठूलो संख्यामा बिरामी अस्पताल पुगे पनि ओपीडी बन्द रहेकाले उनीहरू निराश भएर फर्किनु परेको थियो। तीमध्ये धेरैजसो महिला बिरामीहरूले पाँच दिनदेखि उपचार नपाएको भन्दै अस्पताल प्रशासनप्रति गुनासो पोखेका छन्।
हाल आकस्मिक (इमेर्जेन्सी) सेवा मात्र सञ्चालनमा रहेको जिल्ला अस्पतालका चिकित्सक मंगला बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर अवस्थाका बिरामीहरूलाई इमेर्जेन्सी कक्षमार्फत उपचार भइरहेको छ भने १५ शैयाको अस्पताल बेड पूर्णरूपमा भरिएको छ ।
चिकित्सकहरूको आन्दोलन आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको मासिक निर्वाह भत्ता उपलब्ध गराउने मागसहित सुरु भएको हो। उक्त माग सम्बोधन नहुँदासम्म ओपीडी सेवा नचलाउने चिकित्सक संघको निर्णयले देशभरका सरकारी अस्पतालहरूको सेवा प्रभावित बनेको छ ।
प्रतिक्रिया