हुम्लाको सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्लाको सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट –   हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् । 

एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताउनुभयो । मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उहाँको भनाइ छ ।

यतिबेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ । 

इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उहाँले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गर्नुभयो । 

पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताउनुभयो । महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उहाँको भनाइ छ ।
 
टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताउनुभयो । त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उहाँको भनाइ छ ।

निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको बताउनुभयो । “तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्नेछौँ”, उहाँले भन्नुभयो ।

सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताउनुभयो । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गर्नुभयो । 

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ । 

प्रतिक्रिया